पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशस्तरीय कार्यकर्ता भेलाको आयोजना गर्दैछ ।
कमिटीले आगामी साउन ८ गते भेला तथा प्रशिक्षण आयोजना गरेको एमाले गण्डकी कार्यालय सचिव माधव बास्तोलाले जानकारी दिएका छन् ।भेला पोखराको सभागृह हलमा सञ्चालन हुने भएको छ ।कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाका नेता तथा कार्यकर्ताहरु सहभागी हुने भएका छन् ।
प्रदेशको गत असार ३२ गते बसेको बैठकले तय गरेको कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरु, प्रदेश विभागका सदस्यहरु, ११ वटै जिल्ला कमिटीका सदस्यहरु, जिल्ला सल्लाहकारहरु, गण्डकी प्रदेशअन्तर्गतका जनसंगठनका केन्द्रीय सदस्यहरु, प्रदेशस्तरीय जनसंगठनका सदस्यहरु तथा स्थानीय पालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइनेछ ।
पार्टीका शीर्ष नेताहरुले दिइने प्रशिक्षणमा बाहिरका मानिसलाई प्रवेश निषेध गरिएको छ । प्रशिक्षण विशेषगरी निर्वाचन लक्षित हुने एमाले गण्डकीले जनाएको छ ।
एमालेले गत स्थानीय तह निर्वाचनलाई समीक्षा गर्दै आगामी संघ र प्रदेश निर्वाचनमा आफ्नो सम्पूर्ण शक्तिलाई निर्वाचन केन्द्रित गरेर अभियानहरु सञ्चालन गर्ने क्रमको पहिलो भेलाको सुरुवात पोखराबाट गर्न लागेको हो ।
यो भेलापछि एमालेले जिल्ला, पालिका, वडा र टोलटोलमा अभियानहरु सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ ।
यस अभियानमा करिब १५०० कार्यकर्ताहरु प्रदेशभरि नै परिचालन गर्ने एमालेको योजना छ । यस अभियानले एमालेलाई आगामी निर्वाचनमा पहिलो बन्न भूमिका खेल्ने बताइएको छ ।














