काठमाडौं।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विवादमा तानिएको ‘ग्रीन आर्मी’ खारेज गर्न सरकारसँग माग गरेको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिले विशेष प्रस्ताव पारित गर्दै सेनासँग मिल्दोजुल्दो ‘ग्रीन आर्मी’ खारेज गर्न माग गरेको हो।
‘गम्भीर विपद् र सङ्कटको मौका छोपी निहित स्वार्थ सिद्ध गर्न खोज्ने कुनै पनि दुष्प्रयासलाई नियन्त्रण गरियोस्। यस सन्दर्भमा बाढीग्रस्त क्षेत्रमा दर्ज्यानी चिह्नसहित सेनासँग मिल्दोजुल्दो युद्ध पोसाक र शैलीमा देखा परेको कथित ‘ग्रीन आर्मी’ भन्ने संस्था तत्काल खारेज गरियोस्’, प्रवक्ता प्रकाश ज्वालाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस्तै विपद्को सामना एकीकृत शक्ति निर्माण गरेर मात्र गर्न सकिने भएकाले तत्काल सर्वदलीय बैठक तथा राष्ट्रिय समन्वय परिषद्को बैठक आयोजना गर्न सरकारलाई सुझाव दिइएको छ।
पार्टीले विपद्को यस कठिन घडीमा सहयोग र सद्भाव प्रकट गर्ने मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय सङ्घसंस्था तथा गैरआवासीय नेपालीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी पुनर्निर्माणका लागि थप सहयोगको अपिलसमेत गरेको छ।












