पोखरा ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार राति भएको नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक रुपमा बराबरीमा सकिएको छ । अमेरिकाको टेक्सासस्थित पर्लल्याण्डमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाललले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो।
नेपालका लागि रोहित पौडेलले ६२ रन, आसिल शेख ६१ रन र देव खनालले ५४ रनको अर्धशतकीय पाली खेलेका थिए। त्यस्तै अदिल अन्सारीले २४ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३६ रन बनाए। अमेरिकाका लागि रस्टी थेरोनले ४ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन बनायो । अमेरिकाका स्टेभिन टेलरले ११४ रनको शतकीय पाली खेले भने कप्तान मोनान्क पटेलले ८५ रन बनाए । नेपालका लागि अदिल अन्सारीले ३ विकेट लिए। महत्वपूर्ण समयमा विकेट लिएका उनी खेलको उत्कृष्ट खेलाडी चुनिए ।
अमेरिकालाई अन्तिम दुई बलमा जितको लागि केवल एक रन चाहिएको थियो। तर, आदिलले अन्तिम ओभरको पाँचौं बलमा आरोन जोन्सलाई रोहित पौडेलबाट क्याच गराए भने अन्तिम बलमा राहुल जारिवाला १ रन लिने प्रयासमा रनआउट भए । आदिलले अन्तिम ओभरमा ५ रन दिए ।