काठमाडौं ।
एमसीसी पास गर्नका लागि मत विभाजन भएपछि जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले दुई विकल्प अघि सारेका छन् ।
एमसीसी संसदमा टेबुल भएपनि सत्ता गठबन्धनमै यसको पक्ष र विपक्षमा मतभेद भएपछि पास हुनेमा अन्योलता छाएको छ । यसैबीच भट्टराईले दुई विकल्प अघि सारेका हुन् । उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने बताएका छन् ।तर गठबन्धनका नेकपा माओवादी र एकीकृत समाजवादीले एमसीसीको पक्षमा मत नहाल्ने बताएका छन् ।
पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ । जसपाभित्र पनि दुई धार छ । गठबन्धनको नेपाली काँग्रेस पास गर्ने पक्षमा रहे पनि एक्लैले बहुमत पुग्दैन ।
भट्टराईले अर्को विकल्प अगाडि सारेका छन्- नयाँ समीकरण । नयाँ समीकरण गर्न प्रमुख प्रतिपक्ष एमालेको साथ चाहिन्छ । यो विषयमा काँग्रेस र एमाले नेताहरूबीच छलफल चले पनि कुनै सहमति जुटेको छैन । खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्न एमालेको साथ खोजे पनि उक्त दलका अध्यक्ष केपी ओलीले ‘गठबन्धन भत्काउनुपर्ने’ सर्त राखेका छन् ।
भट्टराई लेख्छन्, ‘एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्द्वमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्यो कि नयाँ समीकरण बन्नुपपर्यो ! अर्को बाटो छैन !’