१० औं रारा पोखरा स्पोट्र्स अवार्डमा ७ लाख ७१ हजार रुपैयाँ बचत

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको १० औं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार एक अवार्डको आयव्यय सार्वजनिक तथा समिक्षात्मक छलफल कार्यक्रम आयोजना गरी उक्त रकम बचत गरेका जानकारी दिएको हो । अवार्ड कार्यक्रमका लागि कुल ३४ लाख ७५ हजार ९ सय ३८ रुपैयाँ आम्दानी भएको थियो भने २७ लाख ४ हजार ५ सय २० रुपैयाँ खर्च भएपछि उक्त रकम बचत भएको हो ।

गत वैशाख ३१ गते पोखरा–६ स्थित पोखरा इभेन्ट सेन्टरमा सम्पन्न भएको अवार्ड कार्यक्रमको मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको ‘रारा तयारी चाउचाउ’ ले गरेको थियो । सह–प्रायोजकका रूपमा गुरुङ गहना घर प्रालि र केल्मे नेपाल रहेका थिए। कोषाध्यक्ष विमल तिवारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न स्थानीय तह, खेल संस्था, व्यवसायिक प्रतिष्ठान तथा देश–विदेशमा रहेका खेलप्रेमी र पूर्वखेलाडीहरूको आर्थिक सहयोगबाट कार्यक्रम सम्पन्न भएको मञ्चले जनाएको छ ।

खर्चतर्फ सबैभन्दा बढी पुरस्कार वितरणमा १० लाख ३७ हजार ४ सय ६० रुपैयाँ खर्च भएको छ । खाजा, खाना तथा आवासमा ६ लाख ९८ हजार ३ सय ६४ रुपैयाँ, ट्रफी तथा ट्रयाक सेट खरिदमा ४ लाख २२ हजार रुपैयाँ, सांगीतिक कार्यक्रम सञ्चालनमा ४ लाख ५० हजार रुपैयाँ तथा अन्य शीर्षकमा खर्च गरिएको मञ्चले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्ड कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सरकारी निकाय, स्थानीय तह, व्यवसायिक संस्था, खेल संस्था, खेलाडी, पूर्वखेलाडी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।

कार्यक्रममा मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरले विगतका कमजोरीबाट पाठ सिक्दै संस्थाका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । प्रविधिको विकाससँगै खेलकुद पत्रकारिताको शैलीमा पनि सुधार ल्याउनुपर्नेमा उनको जोड थियो ।

नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष माधव रेग्मीले पत्रकारिता क्षेत्रमा हुने अवार्ड कार्यक्रमलाई पोखराको विशिष्ट पहिचान वा ‘ब्राण्ड’का रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए । अवार्डलाई थप भव्य र व्यवस्थित बनाउन सबै पक्षबीचको सहकार्य र एकता आवश्यक रहेको उनले उल्लेख गरे । उनले भने, ‘यसलाई पोखराको एउटा ब्राण्ड कार्यक्रम बनाउनका लागि तपाईं हामी सबैको सहकार्य र एकताको हिसाबले अगाडि बढ्नुपर्छ ।’

मञ्चका पूर्वअध्यक्ष केशव पाठकले पोखरा स्पोट्र्स अवार्डको सफलता र यसको गरिमालाई अझ उच्च बनाउन संस्थागत पारदर्शिता र नियमित समीक्षा अनिवार्य रहेको बताए । अवार्ड भव्य र सभ्य रूपमा सम्पन्न भए तापनि केही प्राविधिक र व्यवस्थापकीय पक्षमा सुधार गर्दै आगामी दिनको खाका तयार गर्नुपर्ने उनको सुझाव थियो । मञ्च गण्डकीका पूर्व अध्यक्ष एकराज गिरीले मञ्चले आयोजना गर्दै आएको स्पोट्र्स अवार्डलाई आगामी दिनमा अझ परिष्कृत र अपनत्वपूर्ण बनाउनुपर्नेमा जोड दिए ।

अवार्डका परिकल्पनाकार सन्देश श्रेष्ठले यसको गरिमा र भविष्यबारे आफ्ना धारणा राखे । उनले झण्डै ५ लाख रुपैयाँको न्यून बजेटबाट सुरु गरिएको यो अभियान अहिले ३५ लाख रुपैयाँ संकलन र परिचालन गर्न सक्ने हैसियतमा पुग्नु गौरवको विषय भएको बताए ।

अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ सुरु भएको यो कार्यक्रमले अहिले एउटा स्थापित ब्रान्डको रूप लिएको उनको भनाइ थियो । उनले भने, ‘बचत भएको रकम फ्रिज गरेर मात्र राख्नु हुँदैन, यसलाई खेलकुद पत्रकारहरूको व्यावसायिकता र विश्लेषणात्मक समाचार लेख्ने क्षमता बढाउन लगानी गर्नुपर्छ ।’

  • १० श्रावण २०८३, आईतवार २१:२३ प्रकाशित