पोखरामा साउन २ गते खुला बास्केटबल प्रतियोगिता हुने

केन्द्रभाग मिडिया

पोखरा ।

म्याग्दी जिल्लाको भगवती युवा क्लब, राखु भगवतीको आयोजनामा पोखरामा पहिलो पटक सुलभ प्रिजेन्ट्स  खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिता संयोजक सुलभ मल्लले साउन २ गते पोखरा रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन गरिने जानकारी दिए ।

क्लबले सामाजिक चेतना, अनुशासन, गतिशीलता, स्वाभिमान र विकासलाई मूल नाराका रूपमा अघि बढाउँदै विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ । यसअघि राखु भगवती मन्दिरमा आयोजना हुने कोत पूजामा वार्षिक सहयोग, बडादशैं मेलाको सञ्चालन तथा अन्य सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको क्लबले यसपटक खेलकुदमार्फत युवाबीच आपसी सम्बन्ध, मित्रता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो । म्याग्दी बाहिर पहिलो पटक खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ १५ र महिलातर्फ ५ टोलीको सहभागिता रहने संयोजक मल्लले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा तनहुँ, कास्की, स्याङ्दी, पर्वत, काठमाडौं लगायत विभिन्न जिल्लाका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै बास्केटबल खेलको विकास र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ ।

प्रतियोगितामा पुरुषतर्फ विजेताले ४२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने उपविजेताले २२ हजार २२२ रुपैयाँ नगद, ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । महिलातर्फ विजेताले २५ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र गिफ्ट ह्याम्पर तथा उपविजेताले १५ हजार २२२ रुपैयाँ नगद, ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

संयोजक मल्लले प्रतियोगितालाई सफल बनाउन सबै खेलप्रेमी, सरोकारवाला निकाय, प्रायोजक तथा सञ्चारकर्मीको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

  • ३१ असार २०८३, बुधबार १६:१९ प्रकाशित