काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सो आग्रह गरेका हुन् ।
नेता श्रेष्ठले सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द गर्न समेत आग्रह गरेका छन् । अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्ने चेतावनी समेत उनले दिएका छन् ।
उनले भनेका छन् , ‘अहिले पुनर्वासको व्यवस्था बिना नै सुकुम्बासीहरुलाई ती होल्डिङ सेन्टर बाट बलजफ्ती निकाल्ने सूचना ,धम्की र चेतावनी दिइएको छ ,जुन नितान्त गलत र गैरजिम्मेवार छ ।
सुकुम्बासीहरुलाई छिटो भन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गरियोस् र त्यस्तो व्यवस्था नभए सम्मको लागि होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने कार्य बन्द गरियोस् , अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्नेछ ।’
बालेन्द्र नेतृत्वको सरकारले नेपाली सेना सहितको सुरक्षा फौज प्रयोग गरी बल प्रयोगद्वारा अमानवीय ढङ्गले सुकुम्बासीहरुलाई निकालिएको आरोप समेत उनले लगाएका छन् ।












