पोखरा ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार आयोजित १९ औं नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी वर्षका कार्यक्रम र खर्चको योजना प्रस्तुत गरेकी हुन् ।
यसपटक महानगरले विकास निर्माण (पुँजीगत) भन्दा प्रशासनिक र सेवा प्रवाह (चालु) तर्फ बढी रकम विनियोजन गरेको छ । कुल बजेटमध्ये ५५.१ प्रतिशत रकम चालु खर्चका लागि छुट्याइएको छ भने ४४.९ प्रतिशत मात्रै पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।
महानगरले बजेटको स्रोत जुटाउन संघीय सरकारबाट ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ वित्तीय हस्तान्तरणमार्फत प्राप्त हुने आशा राखेको छ । यसमा सबैभन्दा ठूलो हिस्सा ससर्त अनुदानको छ, जुन २ अर्ब ६१ करोड ९१ लाख रुपैयाँ रहेको छ । यस्तै, समानीकरण अनुदानतर्फ ४९ करोड ३७ लाख, विशेष अनुदानतर्फ ५ करोड ५० लाख र समपूरक अनुदानतर्फ १ करोड ८२ लाख रुपैयाँ संघीय सरकारबाट प्राप्त हुने अनुमान गरिएको छ । गण्डकी प्रदेश सरकारबाट भने महानगरले कुल ९ करोड १५ लाख ३६ हजार रुपैयाँ पाउने प्रक्षेपण गरेको छ । जसमा समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार, समपूरक ६० लाख र विशेष अनुदान ४० लाख रुपैयाँ रहेको छ ।
आन्तरिक आय र राजस्व बाँडफाँडतर्फ महानगरले ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । यसमध्ये महानगरको आफ्नै आन्तरिक स्रोतबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ जुटाइनेछ । बाँकी रकममध्ये संघीय राजस्व बाँडफाँडबाट ३४ करोड ३४ लाख ७३ हजार, प्रदेशबाट ४ करोड ९ लाख ८६ हजार र स्थानीय राजस्वतर्फ १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त हुने विवरण बजेटमा उल्लेख छ ।
बजेटमा महानगरका ३३ वटै वडाका लागि एकमुष्ट ७२ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ । आर्थिक विकास कार्यक्रमका लागि १३ करोड १९ लाख रुपैयाँ, पूर्वाधार, सहरी विकास, सहरी उत्थानशीलता तथा जीवनयापन सुधार परियोजनाका लागि २ अर्ब ८९ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै स्वास्थ्य, शिक्षा तथा सामाजिक विकास क्षेत्रका लागि २ अर्ब ९ करोड ९७ लाख रुपैयाँ र प्रशासनिक तथा कार्यालय सञ्चालन तथा कार्यक्रम खर्चका लागि १ अर्ब १० लाख रुपैयाँ छुट्याइएको छ ।
बजेटले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, आधुनिक फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्ने, रणनीतिक महत्वका सडक, पुल, ढल तथा खानेपानी पूर्वाधार स्तरोन्नति गर्ने, सार्वजनिक–निजी साझेदारीमार्फत निजी क्षेत्रको लगानी आकर्षित गर्ने तथा राजस्व सुधार योजना कार्यान्वयनलाई प्राथमिकता दिएको महानगरले जनाएको छ।
आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा १ अर्ब १९ करोड ८७ लाख रुपैयाँले कम हो । चालु आर्थिक वर्ष २०८२/८३ का लागि महानगरले ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।













