पोखरा ।
पोखरा–१३, दुईकुलाको मुहानस्थित चौधरी तरकारी फर्मका सञ्चालक बृजबहादुर चौधरीको बिहानै सबेर उठेदेखि राति नसुतेसम्म प्राय कृषि कर्ममै समय बित्छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का चौधरी पोखरा आएर कृषि कर्ममा संघर्ष गर्न थालेको १३ वर्ष पुगेको छ । २०७० सालमा पोखरा आएर तरकारी खेती गर्न सुरु गरेका उनले वर्ष बढेसंगै खेती गर्ने जमिन पनि बढाइरहेका छन् । सुरुमा ५ रोपनीबाट सुरु गरेको उनको तरकारी खेती अहिले २२ रोपनीमा पुगेको छ । उनको कृषि यात्रा संघर्ष र निरन्तरताको उदाहरण नै बनेकोछ भन्दा फरक पर्दैन ।
उनलाई सुरुआती चरणमा पोखरा महानगरपालिकाले उपलब्ध गराएको एउटा ट्याक्टरले खेती विस्तारमा ठूलो सहयोग पुर्यायो । त्यसपछि उनले खेती गर्ने क्षेत्र क्रमस बढाउँदै लागेका हुन् । कृषिमा नयाँपन दिन खोज्ने उनले पोहोर साल ५ रोपनी जमिनमा प्याज खेती गरे । एउटै प्याजको डल्ला ८०० ग्रामसम्मको फल्यो । उत्पादन पनि उत्साहजनक रह्यो । उत्पादन गरेर बेच्ने बेलासम्म उनको खुशी दुखमा परिणत भयो । उनले उत्पादन गरेको कुल ११० क्विन्टल प्याज मध्ये भण्डारणको उचित व्यवस्थापन नहुँदा धेरै प्याज कुहिएर फाल्नु पर्यो ।
यो वर्ष उनले प्याज खेतीलाई निरन्तरता दिन सकेनन् । प्याज राम्रो उत्पादन हुने र लगाउन पर्ने निस्कर्षमा पुगेको भएपनि त्यसको उचित भण्डारणको व्यवस्थापन नहुँदासम्म अब प्याजमा हात नहाल्ने उनको भनाई छ । उनका अनुसार पोखरामा हिउँदे सिजनमा प्याजको राम्रो उत्पादन सम्भावना छ । तर, प्याज भण्डारण गर्ने स्टोर नहुँदा व्यावसायिक रूपमा प्याज खेती विस्तार गर्न कठिन भएको छ । उनी भन्छन्, ‘यदि प्याज भण्डारण गर्ने स्टोर बनेको भए उत्पादन सुरक्षित राख्न सकिन्थ्यो र किसानले अझ राम्रो आम्दानी लिन सक्थे ।’
यस वर्ष उनले प्याजको सट्टा खरबुजा खेती गरे । खरबुजा पनि राम्रो उत्पादन भयो । तर, पाकेर बेच्ने बेला असिना र अत्याधिक पानी पर्दा धेरै खबरबुजा कुहिएर यत्तिकै फाल्नु पर्दा उनको मन खिन्न भयो । यति हुँदा पनि उनी कृषि कर्ममा थाकेका छैनन् । २२ रोपनी जमिनको बार्षिक ५ लाख रुपैयाँ भाडा बुझाउने गरेका उनले यस्तै अवस्थामा पनि खर्च कटाएर बार्षिक ७ लाख रुपैयाँ बचत भएको सुनाउँछन् । उनले काँक्रा, गोलभेँडा र खरबुजा लगायतका मौसमी/बेमौसमी तरकारी लगाउने गरेका छन् ।
२०७४ सालमा तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको तरकारी सुपरजोन (हालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्की) ले उनलाई ‘टप टेन’ कृषकमध्ये छनोट गरेको थियो । सोही कार्यक्रममार्फत उनले सेमि–हाइटेक टनेल प्राप्त गरेका थिए ।
त्यसयता राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीबाट उनले अनुदानमा सिँचाइ सुविधा, ट्याक्टर, असिना छेक्ने जाली लगायतका कृषि सामग्रीसमेत प्राप्त गरेका छन् ।
उनको फर्ममा दैनिक तीन जना काम गर्छन् भने सिजनका बेला १० जनासम्मले रोजगारी पाउने गरेका छन् । वार्षिक करिब १८ लाख रुपैयाँको कारोबार हुने फर्मबाट उनको करिब ७ लाख रुपैयाँ नाफा हुने गरेको छ ।













