१५ वर्ष साउदीमा बिताएका इन्द्र, जसले बेमौसमी तरकारी लगाएर वार्षिक ३० लाख बचाउँछन्

केन्द्रभाग मिडिया

पोखरा ।

पर्वत घरभई हाल पोखराको डाँडाको नजिक बस्दै आएका इन्द्रप्रसाद शर्माले पोखरा २७ रिट्ठेपानीमा जग्गा भाडामा लिएर कृषि कर्म गर्न लागेकोे अहिले ८ वर्ष भएको छ । सूर्योदय कृषि फर्म दर्ता गरेर सुरुमा १२ रोपनी जग्गामा ७ लाख रुपैयाँ लगानी गरेर कृषि कर्म गरेका उनले अहिले त्यसलाई विस्तार गरेर १८ रोपनी पुर्याएका छन् । फर्ममा अहिले एक करोड भन्दा धेरै लगानी पुगेको शर्मले जानकारी दिए । उनका स्थायी र अस्थायी गरेर ६५ वटा टनेल छन् ।

बैदेशीक राजगारीको सिलशीलामा १५ वर्षसम्म साउदी अरबको तातोमा बिताएका उनले अहिले आफू र अफ्नो परिवार बाहेक प्रत्येक्ष रुपमा तीन जनालाई रोजगारी पनि दिएका छन् । सुरुमा विदेश जानु बाध्यता जस्तै भएपनि अहिले त्यत्रो १५ वर्ष विदेशी भूमीमा विताएकोमा उनलाई पछुतो छ । ‘सुरुमा विदेश जानु बाध्यता जस्तै थियो । लगानी गर्ने पैसा थिएन । साउदीमा मैले कृषि फर्ममा नै काम गरेँ । त्यहाँको अनुभव पनि अहिले काम लागेको छ । तर, त्यत्रो १५ वर्ष किन त्यस्तो चर्को घाममा बिताएँ भन्ने पछुतो लागेको छ,’ उनले भने ।

सम्पूर्ण रुपमा बेमौसमी व्यावसायिक तरकारी खेती गरेका उनले आफूले लगाएको सबै तरकारी आँफै लगेर तरकारी बजारमा बेच्छन् । बिचौलियालाई दिन नपर्दा उनको मेहनतले राम्रो प्रतिफल पाएको छ । उनको अहिले कृषि फर्मबाट बार्षिक आम्दानी ६५ लाखको छ । बार्षिक रुपमा १८ रोपनी जमिनको २ लाख ७५ हजार रुपैयाँ भाडा तिर्ने गरेका उनले सबै खर्च कटाएर गत वर्षमात्र ३० लाख रुपैयाँ भन्दा धेरै बचत गर्न सफल भएको जानकारी दिए ।

उनको फर्ममा मुख्य रूपमा काँक्रा, गोलभेडा, फर्सी, लौका र साग लगायतका तरकारी उत्पादन हुन्छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई कास्कीबाट उनले प्राविधिक र यान्त्रिक सहयोग प्राप्त गरेका छन् । टनेल निर्माण, ट्याक्टर र सिंचाइँ लगायतमा उनले अनुदान प्राप्त गरेका छन् ।

विदेशको कठिन श्रमपछि स्वदेश फर्किएर कृषि क्षेत्रमा गरेको मेहनतले राम्रो प्रतिफल दिएपछि शर्मा अहिले कृषि पेसाप्रति निकै उत्साहित छन् । उनका अनुसार कृषि क्षेत्रमा लगन र उचित व्यवस्थापन गर्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ ।

 

  • ३ असार २०८३, बुधबार १५:१० प्रकाशित