पोखरा ।
गण्डकी प्रदेश सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रस्तुत गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् ।
उनले आइतबार प्रदेश सभाको बैठकमा बजेट भाषण मार्फत कृषि क्षेत्रको सुधार र स्थानीय तहको सशक्तीकरणलाई मुख्य प्राथमिकतामा राखेका हुन् । सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको हो । मन्त्री शेरचनले स्थानीय तहलाई प्रदान गरिने विभिन्न अनुदानका लागि १ अर्ब ९९ करोड ७१ लाख रुपैयाँ छुट्याएका छन् ।
सरकारले ‘कृषिमा सुधारस् विकासको आधार’ भन्ने नारालाई बजेटको मुख्य मन्त्र बनाएको छ । कृषिलाई बाध्यकारी पेसाबाट मुक्त गरी सम्मानित र समृद्धिको आधार बनाउने लक्ष्य बजेटले लिएको छ । कृषि र पशुजन्य उत्पादन बढाउन सार्वजनिक, निजी र सामुदायिक क्षेत्रसँग सहकार्य गरिने नीति लिइएको छ । उत्पादकत्व वृद्धिका लागि कृषिमा यान्त्रीकरण र बजारीकरणमा विशेष जोड दिने उनले बताए ।












