काठमाडौं ।
नक्कली भुटानी शरणार्थीसम्वन्धी मुद्दामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री राणा देउवा र अख्तियार प्रमुख प्रेम राईसहित हाइ प्रोफाइल नेताहरूलाई झिकाएर बयान लिन माग गरिएको निवेदन जिल्ला अदालत काठमाडौंले दर्ता भएको छ । आज कार्यालय समय सकिने बेला न्यायाधीशले निवेदन दर्ता गर्ने निर्णय लिएका हुन् ।
बहसका क्रममा जाहेरवालातर्फका वकिलले उक्त मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार प्रमुख प्रेम राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, पूर्वमेयर विद्याशुन्दर शाक्य, अजयक्रान्ति शाक्य, कांग्रेस नेतृहरु आरजु राणा र मञ्जू खाणलाई पक्राउ गरेर बयान लिन माग गरेका थिए । उक्त मागमा प्रतिवादी तर्फका वकिलहरुले आपत्ति जनाएपछि इजलासमा केहीबेर तनाव भएको थियो ।
सो पश्चात जाहेरीकर्ताहरूको तर्फबाट रामकुमार रेग्मीले लिखित निवेदन दिइएको थियो । निवेदनमा उल्लेखित व्यक्तिहरुले रकम बुझेको यथेष्ट प्रमाण अदालतमा पेश भइसकेको दावी गरिएको छ ।
उनीहरुलाई झिकाएर बकपत्र गराउनसमेत माग गरिएको छ । यसैगरी मुद्दाका प्रतिवादीहरुको सम्पत्ति रोक्का गर्नसमेत जाहेरीकर्ताले निवेदनमा माग गरेका छन् ।











