काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतम प्रसाद भण्डारीले थपिएको समय अगावै छानबिन प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको बताए ।
‘प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई ४५ पेजको प्रतिवेदन बुझाएका छौँ, प्रतिवेदन जतिसक्दो चाँडो जस्ताको तस्तै सार्वजनिक गर्न भनेका छौँ’, समिति संयोजक भण्डारीले बताए ।
स्रोतका अनुसार प्रतिवेदनमा गुरुङको बयान मात्र १७ पेज छ ।मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको थियो । गुरुङ र व्यवसायी दीपक भट्टबिच व्यवसायीका साझेदारी देखिएको भेटिएको थियो ।
त्यसबाहेक गुरुङमाथि सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको आरोप लागेको थियो । आरोपपछि गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए ।












