मौसम पूर्वानुमान : केही क्षेत्रमा गर्मी बढ्ने, केही क्षेत्रमा वर्षा हुँदा

केन्द्रभाग मिडिया

काठमाडौं ।
हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल, बाँकी पहाडी भूभागमा आंशिक बादल र तराई भूभागमा मुख्यतया मौसम सफा छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ ।

आज राति कोशी र मधेस प्रदेश लगायत देशको हिमाली भूभागमा साधरणतया बादल, पहाडी भूभागमा आंशिक बादल र बाँकी तराई भूभागमा मुख्यतया सफा रहने छ ।

कोशी र मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचनामा अद्यावधिक रहन आग्रह गरेको छ ।

  • २१ जेष्ठ २०८३, बिहीबार ०७:१६ प्रकाशित