यी प्रदेशमा हुनेछ चट्याङसहित हल्का देखि मध्यमसम्मको वर्षा

केन्द्रभाग मिडिया

काठमाडौं ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्सहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ।

आज राति देशको हिमाली भूभागमा साधरणतया बादल, पहाडी भूभागमा आंशिक बादल र तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

  • २० जेष्ठ २०८३, बुधबार ०७:२३ प्रकाशित