पोखरा ।
नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ। तराई क्षेत्रमा आंशिक बदली भएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना छ ।
यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ भने पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने छ । बाँकी तराई भूभागमा मुख्यतया मौसम सफा रहने छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही तथा लुम्बिनी प्रदेशको तराई र कोशी तथा बागमती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।












