प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने विपक्षीको अडान

केन्द्रभाग मिडिया

काठमाडौं ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् ।

सोमबार प्रतिनिधिसभामा आकस्मिक समय, शून्य समय, विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरे ।त्यसपछि सभामुखले बोल्न समय दिए । त्यसक्रममा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री उपस्थित नभएसम्म सदन चल्न नदिने बताएका हुन् ।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नागरिकका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताइन् ।नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संवैधानिक व्यवस्था, कानुनी व्यवस्था अनुसार पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने बताए ।

नेपाली कम्युनिस्ट पार्टीकी प्रमुख सचेतक युवराज दुलालले सबैले संविधान, कानुन मानेर अगाडि बढ्नुपर्ने आग्रह गरे । प्रधानमन्त्री केहीबेर मार्त्र भएपनि संसद्मा आएर रोष्ट्रममा उभिएर बोल्नुपर्ने उनको आग्रह छ ।

श्रम संस्कृति पार्टीका आरेन राइले इतिहासमा के नजिर राख्ने भन्ने विषय रहेको बताए । आगामी पुस्तालाई के सन्देश दिने भनेर सबैले ख्याल गर्नुपर्ने उनको आग्रह छ ।संख्याको दम्भ हो भने त्यो स्थायी नरहने ख्याल गर्न उनको आग्रह छ । पाँच वर्षपछि फेरि चुनाव भएर अर्को समीकरण बन्ने उनले बताए ।

‘जुन दिन सम्म प्रधानमन्त्री संसुद्मा आएर सांसद्का प्रश्नको जवाफ दिन तयार हुनुहुन्न त्यस दिनसम्म हाम्रो विरोध हुन्छ’ उनले भने ।राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीको उपस्थितिको लागि सत्तारुढ दलले पनि पहल लिनुपर्ने आग्रह गरिन् ।

  • १२ जेष्ठ २०८३, मंगलवार १५:४२ प्रकाशित