यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशन सुरु

देशभरका यातायात व्यवसायी पोखरामा, अध्यक्षमा सिटौला, केसी र क्षेत्री आकांक्षी

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौं राष्ट्रिय महाधिवेशन पोखरामा सुरु भएको छ। अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहका बिच उद्घाटन गरेका हुन् ।

आजबाट सुरु  महाधिवेशन  नयाँ नेतृत्व चयन गर्दै २९ बैशाखमा सम्पन्न हुने छ ।  महाधिवेशनमा देशका ७७ जिल्लाका २ हजार भन्दा धेरै व्यवसायी सहभागी छन्।

पहिलो दिन उद्घाटन शत्र चलिरहेको छ  भने दोस्रो दिन बन्दशत्र सञ्चालन हुनेछ । महाधिवेशनको अन्तिम दिन नयाँ नेतृत्व चयन प्रक्रिया हुनेछ । महाधिवेशनमा नयाँ नेतृत्वका लागि तीन जनाले अध्यक्षमा अकांक्षा देखाएका छन् । पुण्यप्रसाद (सरोज) सिटौला, हरिशरण केसी र केदार क्षेत्रीले अध्यक्षमा अकांक्षा देखाएका हुन् ।

सरोज सिटौला सह–कोषाध्यक्ष हुँदै कोषाध्यक्ष, महासचिव र हालको केन्द्रीय कार्यसमितिमा पहिलो वरीयताका वरिष्ठ उपाध्यक्ष बनेका हुन् । हरिशरण केसीले केन्द्रीय सदस्यबाट सुरु गरी सचिव, उप–महासचिव, उपाध्यक्ष र दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष भएर काम गरेका छन् ।

केदार क्षेत्री नेपाल अरनिको यातायात सेवा प्राइभेट लिमिटेडका अध्यक्ष हुन् । उनी महासंघमा उपाध्यक्ष र दुई पटक वरिष्ठ उपाध्यक्ष भएर काम गरेका छन् ।

अर्का बरिष्ठ उपाध्यक्ष ऐनकुमार शाहीले भने बरिष्ठ उपाध्यक्षमै दोहोरिने इच्छा प्रकट गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघ गण्डकी प्रदेशका निवर्तमान संयोजक संयोजक केदार पौडेल पनि बरिष्ठ उपाध्यक्षका दाबेदार छन् ।

निवर्तमान गण्डकी प्रदेश सचिव एवं पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका निवर्तमान अध्यक्ष रहेका योगेन्द्र बहादुर केसीले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । वर्तमान केन्द्रीय सचिव भानुभक्त बरालले उपमहासचिवमा दाबी गरेका छन् ।

महाधिवेशन अहिलेको अवस्थामा देशको यातायात व्यवस्थापनको समग्र नीति तय गर्दै नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ ।

 

  • २७ बैशाख २०८३, आईतवार १४:०३ प्रकाशित