काठमाडौं।
संयुक्त अरब इमिरेट्स (युएई) ले करिब ३८ टन राहत सामग्री नेपाल पठाएको छ । मानवीय हवाई सहायता अभियानअन्तर्गत राहत सामग्रीसहित चौथो राहत विमान नेपाल पठाएको हो । विमानमा ५०० वटा पाल र १०८ वटा राहत प्याकेज समावेश गरिएको एक विज्ञप्तिमा जनाएको छ ।
योसँगै नेपाललाई हवाई मार्गबाट पठाइएको युएईको कुल सहायता १८६ टन पुगेको जारी विज्ञप्तिमा जनाइएको छ । सामग्रीमा खाद्यान्न, आश्रय, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक राहत र लजिस्टिक सामान रहेका छन् ।
प्रभावित क्षेत्रमा सहायता छिटो पुर्याउन नेपाली अधिकारीहरूसँग समन्वय गरी स्थानीय बजारबाट पनि आवश्यक सामग्री उपलब्ध गराइने तयारी गरिएको विज्ञप्तिमा जनाइएको छ । साथै, दुबई प्रहरीको खोज तथा उद्धार टोलीले अत्याधुनिक उपकरण र प्रविधि प्रयोग गर्दै बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा कार्य जारी राखेको समेत जनाइएको छ ।
युएई राहत अभियानका प्रमुख डा। हम्मूद अल अफारीको नेतृत्वमा यो अभियान सञ्चालित रहेको जनाइएको छ । पूर्वसांसद राजेन्द्र बजगाईंले युएईले उपलब्ध गराएको यो सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।












