पोखरामा ट्रकको ठक्करबाट ज्यान गुमाउने युवक स्याङ्जाका नवराज दर्जी रहेको पुष्टि

केन्द्रभाग मिडिया

dead

पोखरा ।

पोखरामा आज ट्रकको ठक्करबाट ज्यान गुमाउने युवक स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का २५ वर्षीय नवराज दर्जी रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित पृथ्वी राजमार्गमा आज बुधबार दिउँसो ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा ज्यान गएको  प्रहरीले जनाएको छ ।

पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिदाँ दर्जी गम्भीर घाईते भएका थिए ।

दर्जीको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो । दुर्घटनालगत्तै उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिम क्षेत्रीय अस्पताल लगिएका दर्जीलाई चिकित्सकले दिउँसो २ः२२ बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि केही समयसम्म मृतकको पहिचान खुल्न सकेको थिएन। पछि मृतकका दाजु नाता पर्ने हरि परियारले वडा प्रहरी कार्यालय रामबजारमा सम्पर्क गरेपछि उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले मृतक नवराज दर्जी भएको पुष्टि भएको बताएका छन् ।

दुर्घटनामा संलग्न ना ५ ख ८२४४ नम्बरको ट्रक र चालक सिन्धुलीको कमलामाई नगरपालिका–८ का ३६ वर्षीय खडकबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • २४ भाद्र २०८३, बुधबार १६:३६ प्रकाशित