यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशन सुरु

देशभरका यातायात व्यवसायी पोखरामा, अध्यक्षमा सिटौला, केसी र क्षेत्री आकांक्षी

केन्द्रभाग मिडिया

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौं राष्ट्रिय महाधिवेशन पोखरामा सुरु भएको छ। अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहका बिच उद्घाटन गरेका हुन् ।महाधिवेशनमा देशभरका यातायात व्यवसायी सहभागी भएका छन् ।

आजबाट सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै २९ बैशाखमा सम्पन्न हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिव भानुभक्त बरालले जानकारी दिए । उनका अनुसार महाधिवेशनमा देशका ७७ जिल्लाका २ हजार भन्दा धेरै व्यवसायी सहभागी भएका छन्। उनले भने, ‘यात्रुबाहक तथा मालबाहक सवारी साधनका संघरसमितिरकम्पनीरप्रालिरपर्यटन, सहकारीहरुका ३८७ महासंघ सदस्यहरुका करीब २ हजार भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी भएका छन् ।’

पहिलो दिन उद्घाटन शत्र चल्नेछ भने दोस्रो दिन बन्दशत्र सञ्चालन हुनेछ । महाधिवेशनको अन्तिम दिन नया नेतृत्व चयन प्रक्रिया हुनेछ ।महाधिवेशनमा नयाँ नेतृत्वका लागि तीन जनाले अध्यक्षमा अकांक्षा देखाएका छन् । पुण्यप्रसाद (सरोज) सिटौला, हरिशरण केसी र केदार क्षेत्रीले अध्यक्षमा अकांक्षा देखाएका हुन् ।

सरोज सिटौला सह–कोषाध्यक्ष हुँदै कोषाध्यक्ष, महासचिव र हालको केन्द्रीय कार्यसमितिमा पहिलो वरीयताका वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।हरिशरण केसीले केन्द्रीय सदस्यबाट सुरु गरी सचिव, उप–महासचिव, उपाध्यक्ष र दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष भएर काम गरेका छन् ।

केदार क्षेत्री नेपाल अरनिको यातायात सेवा प्राइभेट लिमिटेडका अध्यक्ष हुन् । उनी महासंघमा उपाध्यक्ष र दुई पटक वरिष्ठ उपाध्यक्ष भएर काम गरेका छन् ।

अर्का बरिष्ठ उपाध्यक्ष ऐनकुमार शाहीले भने बरिष्ठ उपाध्यक्षमै दोहोरिने इच्छा प्रकट गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघ गण्डकी प्रदेशका निवर्तमान संयोजक संयोजक केदार पौडेल पनि बरिष्ठ उपाध्यक्षका दाबेदार छन् ।

निवर्तमान गण्डकी प्रदेश सचिव एवं पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका निवर्तमान अध्यक्ष रहेका योगेन्द्र बहादुर केसीले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । वर्तमान केन्द्रीय सचिव भानुभक्त बरालले उपमहासचिवमा दाबी गरेका छन् ।

महाधिवेशन अहिलेको अवस्थामा देशको यातायात व्यवस्थापनको समग्र नीति तय गर्दै नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ ।

 

  • २७ बैशाख २०८३, आईतवार १४:०३ प्रकाशित