पोखरा ।
देशकै पर्यटकीय राजधानी पोखरामा सम्पन्न २१ औं संसकरणको नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको विजेता अघिल्ला दिनका खेल र अभ्यास उडानका आधारमा घोषणा गरिस्को छ । शुक्रबार साँझदेखि परेको अविरल वर्षाले शनिबार तय गरिएका प्रतिस्पर्धाहरू हुन नसकेपछि आयोजकले अघिल्ला दिनका खेल र अभ्यास उडानका आधारमा घोषणा गरेको हो ।
अघिल्लो दिनकै नजिताका आधारमा पुरुषतर्फ भारतका अक्षय कुमार पहिलो भएका छन् । चीनका झोउ चेन दोस्रो र भारतकै इमान रुम्टेल तेस्रो स्थान हासिल गर्न सफल भए । विजेताहरूले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । महिलातर्फ चीनकी कोङ सियाङ यान प्रथम भइन् । नेपालकी दुर्गामाया गुरुङले दोस्रो स्थान सुरक्षित गरिन् भने भारतकी श्रेयसी तामाङ तेस्रो भइन् । उनीहरूले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाए ।
समूहगत तर्फ टिम फ्लाई भारकाला पहिलो भयो, जसमा राहुल राई, अक्षय कुमार, मोहन सिंह र मनिषा उप्रेती थिए । टिम इन्डो–नेपाल दोस्रो भयो । यहाँ सोनम लदाखी, अर्जुन जलारी, कृष्ण बहादुर क्षेत्री र गोपाल ठाकुर थिए । त्यसैगरी टिम नेपाल तेस्रो भयो । यहाँ विष्णु तिमिल्सिना, सुमन जंग थापा, रोशन बस्नेत र युवराज सुनार थिए । समूहगत विजेताहरूले क्रमश ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा बिहीबारदेखि सुरु भएको यो पुरुष, महिला तथा समूहगत प्रतियोगिता शनिबार सम्पन्न हुनुपर्ने तालिका थियो । तर, मौसम प्रतिकूल भएपछि शुक्रबार अपराह्नदेखि नै खेल सञ्चालन गर्न कठिन भएको थियो । प्याराग्लाइडिङका लागि घामको ताप र हावाको चाप दुवै अनुकूल हुनुपर्नेमा वर्षा र बादलका कारण सुरक्षा जोखिम बढेपछि खेल स्थगित गरिएको हो ।
प्रतियोगितामा ५ देशका ६२ पाइलटहरू सहभागी थिए । जसमा नेपाल, भारत, चीन, फ्रान्स र जर्मनीका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीले वर्षाले केही बाधा पु¥याए पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।













