पोखरा ।
माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४, लाहाचोकमा चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ हुने भएको छ ।
माछापुच्छ्रे गाउँपालिका वडा नं–४,लाहाकोको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल सङ्घको समन्वयमा ११ चैतदेखि १४ चैतसम्म उक्त प्रतियोगिता लाहाचोक –४,को महेन्द्र माबिको खेलमैदान सञ्चालन हुने गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले जानकारी दिए ।
स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा बडी भन्दा बडी सहभागिता जनाउने लक्ष्यका साथ टिम शुल्क निःशुल्क गरिएको माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिए ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितिय पुरस्कार १ लाख र ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु २५/२५ हजार रहेको छ ।
महिला तर्फ प्रथम पुरस्कार ६० हजार ,द्धितिय पुरस्कार ३० हजार ट्रफि मेडल रहेको छ । सेमी फाइनलमा उपविजेता दुई टिमलाई नगद रु १५/१५ हजार रहेको छ ।
त्यसैगरी ११ गते हुने पुरुष छेलो तर्फ प्रथम पुरस्कार नगद रु १० हजार ,द्धितिय पुरस्कार नगद रु ५ हजार, तृतीयलाई नगद रु २ हजार र सान्त्वनालाई नगद रु १ हजार रहेको छ । पुरुष छेलो तर्फ पनि निःशुल्क दर्ता गर्न सकिने छ ।
महिला तथा पुरुष भलिबल प्रतियोगिता सँगै यस वर्ष पुरुष छेलो पनि समावेश गर्ने भएकोले प्रतियोगितामा अझै बडी रौनकता थपिने गाउँ पालिकाकी उपाध्यक्ष सिता अधिकारीले जानकारी दिइन् ।
माछापुच्छ्रे–४, लाहाचोकका वडा अध्यक्ष मधुसूदन अधिकारीले यो प्रतियोगिताले गाउँपालिका साथै माछापुच्छ्रे«–४,लाहाचोकको पर्यटन सँगै खेल क्षेत्रको प्रवर्द्धन गर्न पनि मद्दत मिल्ने विश्वास लिएको बताए ।
पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर, उदयमान खेलाडी र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरस्कार प्रदान गरिने छ । पुरुष भलिबल खेलमा पालिका भित्रको जनसुकै तह र स्तरका खेलाडीहरू समावेश गर्न पाइनेछ । महिला भलिबल खेलमा राष्ट्रिय खेलाडी १ जना समावेश गर्न सकिने माछापुच्छ्रे« गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुम् बहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन चैत्र १० गते सोमवार दिनको ठिक ३ बजे भित्र टिम दर्ता गरिसक्नुपर्ने पालिबाट सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ ।













