केन्याका धावक जुलियसले जिते २० औं संस्करणको पोखरा म्याराथनको उपाधि

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा वर्षेनी आयोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको २० औं संस्करणको उपाधि केन्याका धावक जुलियस मुरियूकी वाहोमेले जितेका छन् ।  उनले ४२.१९५ किलोमिटरको म्याराथन प्रतियोगितामा निर्धारित दुरी २ घण्टा २३ मिनेट ३९ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । बिजेता धावक वाहोमेले नगद ४ लाख, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा गजेन्द्र राईले २ घण्टा २४ मिनेट ४७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए । उनले नगद रु. २ लाख, मेडल र प्रमाणपत्र प्राप्त गरे । २ घण्टा २७ मिनेट १८ सेकेण्डमा दुरी पार गरेका धादिङका हरिकुमार रिमालले तेस्रो स्थान प्राप्त गर्दै नगद रु. १ लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै, म्याराथनको नेपाल क्याटगोरीमा गजेन्द्र राई प्रथम भए । उनले नगद १ लाख र मेडल प्राप्त गरे । सो प्रतिस्पर्धामा हरिकुमार रिमालले दोस्रोहुँदै ५० हजार र करण रावलले तेस्रो स्थान प्राप्त गर्दै २५ हजारसहित मेडल जिते ।

प्रतियोगिता अन्तर्गत गण्डकी क्याटगोरीमा पर्वतका सुवास गुरुङ प्रथम, गोरखाका निरोज भट्ट दोस्रो र स्याङ्जाका धनु मानन्धर तेस्रो भए । सो स्पर्धामा प्रथम हुने गुरुङले ५० हजार, दोस्रो हुने भट्टले ३० हजार र तेस्रो हुने मानन्धरले २० हजार जिते ।

प्रतियोगिता अन्तर्गत ४५ वर्ष माथिको भेट्रान म्याराथनमा रैवतबहादुर दाहाल प्रथम, सुशीलकुमार श्रेष्ठ दोस्रो र चेतनाथ चालिसे तेस्रो भए । यस स्पर्धामा प्रथम हुने दाहालले २५ हजार, दोस्रो हुने श्रेष्ठले १५ हजार र तेस्रो हुने चालिसेले १० हजारसहित मेडल प्राप्त गरे ।

२१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिताको पुरुषतर्फ सञ्जय श्रेष्ठ प्रथम, नगेन्द्रसिंह राउत दोस्रो र गौतम श्रेष्ठ तृतीय भए । हाफ म्याराथनको महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम, निशा सार्की दोस्रो र राज्यलक्ष्मी रावल तृतीय भए । हाफ म्याराथनको पुरुष तथा महिला दुबैतर्फ प्रथम हुनेले ७५ हजार, दोस्रो हुनेले ५० हजार तेस्रो हुनेले ३० हजार प्राप्त गरे ।

२१ किलोमिटर हाफ म्याराथनकै ४५ वर्ष माथिको भेट्रान पुरुष दौडमा धर्म महर्जन प्रथम, तेजबहादुर गुरुङ दोस्रो र कमल गुरुङ तेस्रो भए । यस स्पर्धामा प्रथम हुने महर्जनले २० हजार, दोस्रो हुने गुरुङले १५ हजार र तेस्रो हुने कमल गुरुङले १० हजार नगदसहित मेडल प्राप्त गरे ।

१० किलोमिटर दौड पुरुषमा नागेश्वर अहिर प्रथम, उमेश विष्ट दोस्रो र महेन्द्रबहादुर बोगटी तेस्रो भईन् । यस स्पर्धाको महिलातर्फ दीपा परियार प्रथम, सुमित्रा कुमारी चौधरी दोस्रो र नारायणी भण्डारी तृतीय भईन् । यस स्पर्धाको पुरुष तथा महिला दुबैतर्फ प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजारसहित मेडल प्राप्त गरे ।

प्रतियोगिताको ५ किलोमिटर छात्रतर्फ रोसनकुमार माझी प्रथम, रुपेशकुमार माझी दोस्रो र सगुन लामिछाने तृतीय भए भने छात्रातर्फ एञ्जिला जिटी प्रथम, साधना परियार दोस्रो र अनुषा बुढा तेस्रो भए । ५ किलोमिटर खुल्ला पुरुष दौडतर्फ सन्तोषनाथ योगी प्रथम, बादल कार्की दोस्रो र तुलबहादुर झेण्डी तृतीय भए भने महिलातर्फ टीका खड्का प्रथम, दृष्टि आले दोस्रो र पूर्णकाशी गुरुङ तेस्रो भए । यसैगरी, ५० वर्ष माथिको पुरुषतर्फको ५ किलोमिटर दौडमा राजु भण्डारी प्रथम, किशोर थापा दोस्रो र आईलाल शाही तेस्रो भए भने ४५ वर्ष माथिको महिला भेट्रान दौडमा टोलमाया थापा प्रथम, जगनसुबा गुरुङ दोस्रो र विष्णु ठकुरी तेस्रो भए ।

५ किलोमिटर कर्पोरेट पुरुष दौडमा सुशन थापा प्रथम, दीवेश रिजाल दोस्रो र राजु गुरुङ तेस्रो भए भने महिलातर्फको कर्पोरेट दौडमा पवित्रा सुवेदी प्रथम, खड्कदेवी बास्तोला दोस्रो र विनुता पाण्डे तृतीय भए । यी सबै स्पर्धामा प्रथमले १० हजार, दोस्रो हुनेले ७ हजार तेस्रो हुनेले ५ हजार प्राप्त गरे ।

प्रतियोगिताको बिजेताहरुलाई आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्कबहादुर रानाभाट, पूर्व अध्यक्ष तेजबहादुर गुरुङ, निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, पूर्व धाविका ईन्द्रा मल्ल, पूर्व खेलाडी जगन गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा रंगशालाबाट शुरु भएको दौडको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । दौडमा प्रतियोगितात्मक रुपमा ३ हजार ६ सय १ र रन फर फनमा ६ हजार ५ सय गरेर कुल १० हजार दौडिएको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका महासचिव महेश पौडेलले जानकारी दिए ।

  • २ फाल्गुन २०८२, शनिबार १९:१३ प्रकाशित