टी–२० विश्वकप : इटालीसँग नेपाल १० विकेटले पराजित

केन्द्रभाग मिडिया

काठमाडौं ।

टी–२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२४ रनको झिनो लक्ष्य इटालीले १२.४ ओभरमा भेट्टाएको हो । इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे । जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहे ।

त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो । आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३–३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन् । बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।

यसअघिको खेलमा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएका थिए ।

  • २९ माघ २०८२, बिहीबार १८:१५ प्रकाशित