काठमाडौं ।
जारी आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले आज (बिहीबार) खेल इटालीसँग खेल्दै छ । पहिलो खेलमा सानदार प्रदर्शन गरे पनि इंग्ल्यान्डसँग हार बेहोरेको नेपाली टोलीले आज इटालीसँग दोस्रो खेल खेल्न लागेको हो ।
भारतस्थित मुम्बइको वानखेडे क्रिकेट मैदानमा नेपाली समयअनुसार खेल दिउँसो ३ बजे सुरु हुनेछ । खेलमा पहिलोपटक विश्वकप क्रिकेट खेलिरहेको इटाली टोली पनि अनुभवी टोली नेपाललाई हराउने रणनीतिमा हुनेछ भने, नेपालले इटलीलाई हराउँदै आफ्नो विजयी सुरुवात गर्ने योजनामा छ ।
नेपाल यसअघि २०१४ र २०२४ मा विश्वकप क्रिकेट खेलिसकेको छ । नेपालले पहिलोपटक विश्वकप खेल्दा हङकङलाई ८० रन र दोस्रो खेलमा अफगानिस्तानलाई ९ रनले हराएको थियो । त्यसयता नेपालले विश्वकपमा कुनै खेल जित्न सकेको छैन । उता इटाली जारी विश्वकपमा आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले हारेको छ ।
आज एकअर्काविरुद्ध मैदान उत्रिँदा नेपाल र इटाली दुवै पहिलो जित हासिल गर्ने दाउमा हुनेछन् । सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई फराकिलो जितको आवश्यकता छ । आफूले जितेर मात्र हुँदैन, अन्य टोलीको नतिजा पनि आफूअनुकूल आउनुपर्ने हुन्छ ।
समूह सीका टोलीमध्ये नेपाल र इटाली मात्र अहिलेसम्म जितविहीन छन् । अंकतालिकामा नेपाल चौथो र इटाली पाँचौँ स्थानमा छन् ।














