छापा मार्न गएको सशस्त्र प्रहरीमाथि तस्कर समूहको आक्रमण, ३ प्रहरी घाइते

केन्द्रभाग मिडिया

वीरगन्ज ।

पर्सामा अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–१० स्थित एक गोदाममा सोमबार छापा मार्ने क्रममा भएको आक्रमणमा ३ जना सशस्त्र प्रहरी घाइते भएका हुन् ।

सशस्त्र प्रहरीले वीरगन्जको आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साको सीमा सुरक्षा गुल्म र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेको थियो । सो क्रममा अवैध रुपमा भण्डार गरी राखेको ७ लाख मूल्य बढीको कपडा बरामद गरिएको छ ।

कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएका थिए । तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरीको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको र ३ जना सशस्त्र प्रहरी घाइते भएका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • २६ माघ २०८२, सोमबार १४:०१ प्रकाशित