२५ औँ आहा! रारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक

केन्द्रभाग मिडिया

पोखरा ।

२५ औं संस्करणको ‘आहा–रारा पोखरा गोल्डकप’ को खेल तालिका सार्वजनिक भएको छ ।

गोल्डकपको पूर्णसन्ध्यामा आज पत्रकार सम्मेलनको आयोजना गरि आयोजक सहारा क्लबले प्रतिष्ठित प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार गोल्डकपको पहिलो दिन माघ २७ गते सहारा क्लब पोखरा र गोरखा इन्टरनेसनल फुटबल क्लब बिच प्रतियोगिता हुने भएको छ ।

दोस्रो खेल माघ २८ गते जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच, माघ २९ गते नेपाल एपिएफ क्लब र मनाङ्गमस्र्याङदी क्लब, फागुन १ गते फ्रेन्ड्स क्लब र प्लानिङ बोइज युनाइटेड, फागुन २ गते नेपाल पुलिस क्लब र पहिलो प्रिक्वाटरको विजेता बीच प्रतिष्पर्धा हुनेछ ।

त्यस्तै फागुन ३ गते चर्च बोइज युनाइटेड र दोस्रो प्रिक्वटरको विजेताबीच, फागुन ४ गते थन्डरबोल्ट नर्थ युनाइटेड इन्डिया र तेस्रो प्रिक्वाटरको विजेताबीच, फागुन ५ गते अभा फुटबल क्लब उज्वेकिस्तान र चौथो प्रिक्वाटरको बिजेताबीच खेल हुनेछ ।

यस्तै फागुन ६ गते पहिलो क्वाटरफाइनलको विजेता र तेस्रो क्वाटर फाइनलको बिजेताबीच, फागुन ७ गते दोस्रो क्वाटरफाइनलको बिजेता र चौथो क्वाटरफाइनलको बिजेता बिच प्रतिष्पर्धा हुनेछ ।

फागुन ९ गते पहिलो सेमिफाइनलको बिजेता र दोस्रो सेमीफाइनल बिजेताबीच उपाधिका लागि प्रतिष्पर्धा हुनेछ ।

क्लवले रजत जयन्ती संस्करणलाई विशेष बनाउँदै यसपालीको पुरस्कार राशिमा वृद्धि गरेको सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताको विजयी टोलीले १४ लाख एक हजार, उपविजेताले सात लाख एक हजार प्राप्त गर्नेछन् । यसअघिको २४ औं संस्करणमा उपाधि राशी १२ लाख एक हजार र उपविजेता हुने टिमलाई ६ लाख एक हजार रुपैयाँ प्रदान गरिएको थियो ।

यस्तै प्रतियोगिताको अवधिमा अनुशासित टिमलाई २५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने सहारा क्लबका अध्यक्ष थापाले बताए ।
यस्तै सर्वोत्कृष्ट खेलाडीलाई टेलजि इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र,उत्कृष्ट गोलकिपरलाई २५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
उत्कृष्ट डिफेन्सरले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट मिडफिल्डरले २५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट स्टाईकरले २५ हजार, ट्रफी र प्रमाणपत्र,उत्कृष्ट कोचले २५ हजार, ट्रफी र प्रमाणपत्र,उत्कृष्ट कोचले २५ हजार, ट्रफी र प्रमाणपत्र,सर्वाधिक गोलकर्ताले २५ हजार, ट्रफी र प्रमाणपत्र,उदयमान खेलाडीले २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै हरेक म्याचमा मेन अफ दि म्याचले १० हजार रुपैया र ट्रफि,प्रत्येक म्याचको भाग्यशाली दर्शकले ५ हजार रुपैयाँ र प्रत्येक म्याचको फ्यान अफ दि म्याचले २५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै गोल्डकपको टिकटदर तोकिएको छ । सिजनल तर्फ १२ सय रुपैयाँ, जर्सीसहित टिकटको मुल्य ३ हजार रुपैयाँ निर्धारण गरिएको छ । जर्सीको मात्र मुल्य २ हजार रुपैयाँ तोकिएको छ ।

साधारण तर्फ खेलको टिकट प्यारापिट अनुसार वर्गीकरण गरिएको छ । जस अनुसार प्रि क्वाटर र क्वाटर फाइनलको खेल हेर्नका लागि पश्चिम प्यारापिट तर्फको टिकट २०० रुपैयाँ, अन्य प्यारापिटतर्फ १०० रुपैयाँ, सेमीफाईनलको खेल हेर्नका लागि पश्चिम प्यारापिट तर्फको टिकटदर ३०० रुपैयाँ र अन्य प्यारापिट तर्फको टिकट दर २ सय रुपैयाँ तोकिएको छ ।

फाईनल खेल हेर्नको लागि पश्चिम प्यारापिट तर्फ ५ सय रुपैयाँ र अन्य प्यारापिट तर्फ ३ सय रुपैयाँ टिकटदर निर्धारण भएको छ ।
प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ ।

आहा–रारा गोल्डकपको खेलहरू पहिलो पटक फ्लडलाइटमा खेलाइने भएको छ।आयोजक सहारा क्लब पोखराका अनुसार यसपटक प्रतियोगितालाई खेलसँगै पोखराको पर्यटन प्रवद्र्धनसँग जोड्ने उद्देश्य राखिएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि को उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ ।

पोखरा महानगरपालिकाको संरक्षकत्वमा आयोजना हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की तथा सहारा युके, सहारा हङकङ र सहारा क्लब अष्ट्रेलियाले विशेष सहयोग गरेका छन् ।

  • २५ माघ २०८२, आईतवार ११:३७ प्रकाशित