पोखरा ।
नेपालले हिजो शनिबार देखि सुरु दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात आज देखि गर्दैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै आइसीसी टी–२० विश्वकपको सुरुवात गर्न लागेको हो ।
मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो सवा ३ बजे नेपाली टोली इङल्यान्डविरुद्ध मैदान उत्रँदैछ । नेपालले समूह चरणका आफ्ना चार खेल वानखेडे स्टेडियममा नै खेल्नेछ । समग्रमा तेस्रो र लगातार दोस्रो पटक नेपालले विश्वकप खेल्न लागेको हो ।
अघिल्लो पटक विश्वकप खेलेका १० र नयाँ खेलाडीले यसपटकको विश्व कपमा नेपालको प्रतिनिधित्व गर्दैछन् । आरिफ शेख, बसिर अहमद, लोकेश बम, शेर मल्ल र नन्दन यादव विश्वकपमा डेब्युको तयारीमा छन् ।
सोमपाल कामी भने नेपालले खेलेका तिन वटै विश्वकप खेल्ने एक्ला खेलाडी बन्ने संघारमा छन् । कप्तान रोहित पौडेलसँगै ओपनर कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्र सिंह ऐरि, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी र सन्दीप जोरा लगातार दोस्रो पटक विश्वकप खेल्न लागेका हुन् ।
विश्वकपअघि नेपालले युएई र क्यानडासँग अफिसियल वार्मअप म्याच खेलेको थियो । ति दुवै खेलमा नेपालले जित हात पारेको थियो । विश्वकप आयोजक श्रीलंका र भारतमा अभ्यास गरेको नेपाली टोली उच्च मनोबलमा छ ।














