काठमाडौं ।
आईसीसी टी–२० विश्वकप प्रतियोगिताको १० औं संस्करण आज (शनिबार) देखि सुरु हुँदैछ । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजक रहेको प्रतियोगिता आज सुरु भएर मार्च ८ मा हुने फाइनल खेलसंगै सकिने छ ।
भारत र श्रीलंका दुबै आयोजक राष्ट्र रहेको क्रिकेटको यो महाकुम्भ भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाको दुई शहरका तीन मैदानमा चल्ने छ । २० टोली सहभागी यो प्रतियोगितामा कुल ५५ खेल हुनेछ ।
भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियम, कोलकताको इडेन गार्डेन, दिल्लीको अरुण जेट्ली स्टेडियम, मुम्बईको वानखेडे स्टेडियम र चेन्नइको एमए चिदम्बरम स्टेडियममा विश्वकपका खेल हुनेछन् ।
विश्वकपमा नेपालले समूह चरणका आफ्ना सबै चार खेल वानखेडे स्टेडियममा खेल्नेछ । श्रीलंकाको कोलोम्बोस्थित आर.प्रेमादसा स्टेडियम र एसएससी क्रिकेट मैदानमा र क्यान्डीको पालकेले क्रिकेट स्टेडियममा विश्वकपका खेल हुनेछन् ।
विश्वकपको पहिलो दिन आज तीन खेल हुँदैछन् । श्रीलंकाको कोलोम्बोस्थित एसएससी मैदानमा पाकिस्तान र नेदरल्यान्ड्स बीचको उद्घाटन खेल बिहान सवा ११ बजे सुरु हुनेछ । यता भारतमा भने दुई खेल हुनेछन् । कोलकताको इडेन गार्डेनमा समूहसीका स्कटल्यान्ड र वेष्ट इण्डिज खेल्ने तालिका छ । यो नेपाल रहेको समूह हो ।
वेष्ट इण्डिजले दुई पटक विश्ककपको उपाधि उचालिसकेको छ । स्टकल्यान्ड भने अन्तिम समयमा विश्वकपमा प्रवेश गर्ने भाग्यमानी टोली हो ।
सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारत भ्रमण गर्न अस्वीकार गरेपछि आईसीसीले वरियताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो । यो खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । पहिलो दिनको अन्तिम खेलमा शनिबार राति सवा ७ बजे घरेलु टोली भारतले अमेरिकासँग खेल्ने तालिका छ। मुम्बईको वानखेडे स्टेडियममा अमेरिकासँग खेल्दै साविक विजेता भारतले विश्वकपको यात्रा सुरु गर्नेछ ।
नेपालले भने आइतबार दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह चरणका खेलपछि शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउनेछन् ।
सुपर ८ का खेलहरु फेब्रुअरी २२ देखि सुरु हुनेछ । सुपर ८ का शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल मार्च ४ र दोस्रो सेमिफाइनल मार्च ५ मा हुनेछ । फाइनल खेल मार्च ८ मा हुने तालिका छ ।














