टाईगर कप : पुरुषतर्फको उपाधि गण्डकीलाई

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा सम्पन्न छैटौं संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्रतराष्ट्रिय आमन्त्रित क्लव भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल संघले जितेको छ । शनिबार सम्पन्न फाइनलमा गण्डकीले पुलिसलाई ३–१ को सेटमा हराउँदै उपाधि हात पारेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछि लगातार तीन सेट आफ्नो पक्षमा पार्दै खेल पल्टाएको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।

गत संस्करणको फाइनलमा पुलिससँग ३–१ को सेटमा पराजित हुँदै उपविजेतामा सीमित भएको गण्डकीले यस वर्ष ठीक उल्टो नतिजा निकाल्दै बदला पूरा गरेको हो । उपाधिसँगै गण्डकीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो ।

फाइनलमा पराजित नेपाल पुलिस क्लबले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो स्थान हासिल गरेको पर्वत जिल्ला भलिबल संघले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार पायो। तेस्रो स्थानको खेलमा पर्वतले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

व्यक्तिगत विधातर्फ गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गरे । उत्कृष्ट सर्भर अद्नान खान, उत्कृष्ट लिविरो भीमबहादुर गाहा, उत्कृष्ट सेटर बलराम गुरुङ, उत्कृष्ट ब्लकर फहद राज, उत्कृष्ट स्पाइकर फकर वाट्टु र उत्कृष्ट प्रशिक्षक रमेश केसी घोषित भए ।

उनीहरुलाई जनही ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो । महिलातर्फको उपाधि न्यू डायमण्ड स्पोर्ट्स क्लबले जित्दा नेपाल पुलिस क्लब उपविजेता र थाइल्याण्ड क्विन्स तेस्रो बने । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा ९ माघदेखि सुरु प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता थियो ।

विजयी खेलाडीहरुलाई पोखरा महानगरका मेयर धनराज आचार्य, आयोजक संस्था टाईगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, खेल संयोजक राजकुृमार गुरुङ, सहसंयोजक डोलराज पोखरेल लगायतले पुरस्कार वितरण गरे ।

उक्त अवसरमा खेल पत्रकारबाट केशव पाठक, भलिवल खेल क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका अन्तराष्ट्रिय रेफ्रि विकास गुरुङ, टाईगर ग्रुपका सदस्य खुमबहादुर थापालाई सम्मान गरिएको थियो ।

  • १७ माघ २०८२, शनिबार २१:४९ प्रकाशित