टाईगर कप भलिबलको छैटौं संस्करण आजदेखि

उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्ड र त्रिभूवन आर्मी क्लवले प्रतिस्पर्धा गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

टाईगर ग्रुप अफ नेपालले पोखरामा वर्षेनी आयोजना गर्दै आएको ‘टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता’कोे छैटौं संस्करण आज (शुक्रबार) सुरु हुँदैछ । आगामी १७ माघसम्म चल्ने प्रतियोगिताको दिउँसो १ः३० बजे गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उद्घाटन गर्ने आयोजक टाईगर ग्रुप अफ नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

आज उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्ड र त्रिभूवन आर्मी क्लवले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ आज नै त्रिभूवन आर्मीले मालदिभ्स भलिबल एशोसियसनको सामना गर्ने अध्यक्ष शर्माले जानकारी दिए । आज नै तेस्रो खेलमा घरेलु टिम गण्डकी प्रदेश भलिबल संघले सशस्त्र प्रहरीको एपीएफ क्लवसँग प्रतिष्पर्धा गर्ने गर्ने उनले बताए ।

पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा महिलातर्फ तीन विभागीय टिमहरु नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरीको एीपएफ क्लब तथा टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लब र थाईल्याण्ड क्विन्स थाईल्याण्ड बिच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, पुरुषतर्फ ३ विभागीय टिमहरु नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब, पर्वत जिल्ला भलिबल संघ र मालदिभ्स भलिबल एशोसियसनले प्रतिस्पर्धा गर्नेछन् ।

एनसेलको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा यसअघि महिला तथा पुरुष दुबैतर्फ ७र७ टिमले सहभागिता जनाउने भनिए पनि अन्तिम अवस्थामा महिलातर्फ भारत र बुटवलको टिम तथा पुरुषतर्फ भारतको एक टिमले सहभागिता जनाउन असमर्थ भएकाले पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमले प्रतिष्पर्धा गर्ने भएका हुन् ।

प्रतियोगिताको पुरुष तथा महिला दुबैतर्फको उपाधि बिजेता टिमले जनहि नगद ६ लाख ६६ हजार ६६६, उप–बिजेताले नगद ३ लाख ६६ हजार ६६६ तथा तेस्रो हुने टिमले २ लाख ६ हजार ६६६ सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी महिला तथा पुरुषतर्फ दुबैतर्फ सर्वोत्कृष्ट खेलाडीले जनहि नगद २६ हजार ६६६ तथा अन्य महिला तथा पुरुष दुबैतर्फ विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई समान नगद ११ हजार ६६६ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक राजकुमार गुरुङले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड ८० लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता अवलोकनका दर्शकले टिकट काट्नुपर्ने सचिव डिबी नेपालीले बताए । उनका अनुसार यस वर्ष सिजनल टिकटको ३ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

  • ९ माघ २०८२, शुक्रबार ०८:५३ प्रकाशित