जिल्ला प्रशासन कास्कीको आदेशः विवाह/मृत्यु संस्कारमा पच्चीस बढी भेला नहुनु, यी क्षेत्र बन्द !(सूचनासहित)

केन्द्रभाग मिडिया

पोखरा ।

कोरोना भाइरसहको नयाँ भेरियन्ट ओमिक्रोन विश्वमा तीव्र रुपमा फैलिएरहेको अवस्थामा नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारले यसअघि नै विभिन्न निर्देशन जारी गरि सकेको छ ।

यसै बिच कास्की जिल्ला प्रशासनले पनि कास्कीमा संक्रमणदर पचास प्रतिशत भन्दा माथि रहेको भन्दै यसको जोखिम रोक्न तथा न्युनिकरणका लागि विभिन्न आदेश जारी गरेको छ ।

हिजो जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र डिसीएमसीको बैठकले माघ १५ गतेसम्म भिडभाड हुने सबै खालका कार्यक्रमहरु बन्द गर्न निर्देशन दिएको छ ।

प्रशासनले जारी गरेको विज्ञप्तिमा सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाच घर , क्लब, हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल,पटके हाटबजार, स्पा सेन्टर, ब्युटीपार्लर र मानिसहरुको भिडभाड हुने कार्यक्रम बन्द गर्न भनेको हो । यस्तै विद्यालय, विश्व विद्यालय, कलेज, ट्यूशन सेन्टर बाट हुने भौतिक क्लासहरु बन्द गर्न भनिएको छ ।

माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस,नगर्न नगराउन र जिल्लामा रहेका मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गरि नित्य पूजा ,ध्यान र प्रार्थना बाहेकका क्रियाकलाप नगर्न आग्रह गरिएको छ।

सपिङ्ग मल, डिपार्टमेन्टल स्टोर , सुपर मार्केटमा एक पटकमा पच्चीस जना भन्दा बढीलाई प्रवेश नदिन, कम्तिमा दुई मिटरको दुरी कायम गर्न, मास्कको अनिवार्य उचित प्रयोग गर्न, पटकपटक साबुनपानीले हात धुन, सेनिटाइजर प्रयोग गर्न, खोप लगाएको प्रमाण अनिवार्य लागू गर्न भनिएको छ ।

पूर्वनिर्धारित खेलकुद प्रतियोगिता गर्दा एकपटकमा कुल क्षमताको एक तिहाई मात्र उपस्थित गराउन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

धार्मिक वा साँस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतवन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका कार्यमा पच्चीस जना भन्दा बढी भेला नहुन पनि भनिएको छ ।

  • ४ माघ २०७८, मंगलवार १३:४६ प्रकाशित