प्रचण्ड भन्छन्, ‘संघीय निर्वाचनको जस्तो हुरीबतास स्थानीय तहमा सम्भव छैन’

केन्द्रभाग मिडिया

तनहुँ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरीबतास सम्भव नरहेको बताएका छन् ।

मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहमा प्रतिनिधिसभाको जस्तो हुरीबतास आउन सम्भव नरहेको जिकिर गरेका हुन् ।

नयाँ राजनीतिक दलले गरेका काम आम नागरिकले बिस्तारै बुझ्दै गएको उनको भनाइ छ । स्थानीय तहको निर्वाचनमा इतिहास, पृष्ठभूमि र काम हेरेर जनताले मतदान गर्ने भएकाले सबैले सक्रियताका साथ काममा लाग्नुपर्ने उनले बताए ।

‘स्थानीय तहमा पहिलाको जस्तो हुरीबतास आउन सम्भव छैन, स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन,’ दाहालले भने, ‘सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता कोको छन् । अब हामीले नै जस्तो हुन्छ, हुन्छ भनेर छोडिदियौँ भने र हामी त हार्नेवाला नै हो भनेर हिँड्यो भने त एउटा कुरा हो, हामीले कसिएर स्थानीय तहको चुनाव जित्ने हो भनेर लाग्ने हो भने संघको जस्तो हुँदैन ।’

उनले जनताले इतिहास र पृष्ठभूमि थाहा नभई भोट नहाल्ने उल्लेख गर्दै थपे, ‘नयाँको काम बुझ्नेले त बुझिसकेका छन्, गाउँघरमा बुझाउन बाँकी छ, बिस्तारै बुझ्छन् सबैले ।’

स्थानीय तहमा राम्रो परिणाम ल्याउन सके देश पुनः क्रान्तिको दिशामा अघि बढ्ने दाबी गर्दै उनले भने, ‘स्थानीय तहमा राम्रो परिणाम निकाल्यौँ भने क्रान्तितिर देश फेरि जान्छ, यो कुरालाई तपाईं हामीले जति गहिरो गरी बुझ्छौँ, त्यति जोश आउनेछ ।’

  • ८ मंसिर २०८३, मंगलवार १७:०१ प्रकाशित