ढाका ।
बङ्गलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजनालाई अस्वीकार गर्दै उनी फर्किए पक्राउ गरिने स्पष्ट पारेको छ । सरकारले उनको पुनरागमनलाई स्वीकार नगर्ने सङ्केत दिँदै सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ ।
हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्समार्फत ढाका फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन सरकारसँग आग्रह गरेका थिए।
तर, विदेश राज्यमन्त्री हुमायूँ कबिरले ढाकामा विदेशी कूटनीतिज्ञहरूलाई सरकारको धारणा स्पष्ट पार्दै उनी सामान्य यात्रु नभएको र दोषी ठहर भइसकेकाले फर्किए पक्राउ गरिने बताएका छन्।
कूटनीतिज्ञहरूलाई जानकारी दिएपछि पत्रकारसँग कुरा गर्दै कबिरले बङ्गलादेशी जनताले आन्दोलनमार्फत हसिनालाई अस्वीकार गरिसकेको उल्लेख गरे । उनले इच्छा र वास्तविकता फरक हुने भन्दै हसिना फर्किए हत्कडी लगाइने चेतावनी दिए।
हसिनाले डिसेम्बर १६ मा फर्कने घोषणा गरेपछि सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी) ले भारतसँगको सीमामा गस्ती बढाएको छ । सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोहपछि भारत जानुभएकी हसिना त्यसयता त्यहीँ रहँदै आएकी छन् । उनको स्वदेश फर्कने घोषणाले बङ्गलादेशमा राजनीतिक तनाव बढाएको छ भने सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसैबीच, सरकारले बदलिँदो राजनीतिक अवस्थाबारे विपक्षीसहित विभिन्न दलसँग छलफल गरेको छ । राष्ट्रिय नागरिक पार्टीका नेताहरूसँग पनि हसिनालाई स्वदेश फर्कनबाट रोक्ने उपायबारे बैठक भएको जनाइएको छ ।
सरकारले विदेशी कूटनीतिज्ञहरूलाई हसिनाको अवामी लिग पार्टीले आतङ्कवादी गतिविधि सुरु गरेको आरोप लगाउँदै त्यसका सदस्यहरू फर्किए कानूनी कारबाही गरिने जानकारी दिएको छ । रासस












