पोखरा ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेवान पोखराले आयोजना गरेको २७ र्औ संस्करणको सडक महोत्सवमा आन्तरिक एवं बाहीय पर्यटक गरेर ५ लाख पर्यटक भित्रिएको आयोजक रेवान पोखराले जनाएको छ । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार पुरानो वर्षलाई विदाई गरेर नयाँ वर्षको स्वातार्थ मात्र बुधबार डेढ देखि दुईलाख मानिस राति लेकसाइड पुगेका थिए । महोत्सव स्थलमा आन्तरिक र वाहीय पर्यटकको उत्साहजनक उपस्थितिमा नयाँ वर्षको स्वागत गरिएको उनले बताए । ‘सडकमा टिकट नकाटिएकाले ठ्याक्कै भन्न गाह्रो भएपनि महोत्सव अबधीमा पाँच लाख पर्यटक भित्रिए भन्ने हाम्रो अनुमान हो । डेढदेखि दुई लाखको हाराहारीमा बुधबार मात्र पर्यटक आउनुभयो’ उनले भने ।
महोत्सवमा ठ्याक्कै कति कारोबार भयो भन्न गाह्रो भएपनि पोखराकै अर्थतन्त्र चलायमान भएको उनको भनाई छ । उनले यो उत्साहजनक उपस्थिति र साथका लागि उपस्थित महोत्सव अवलोकनकर्ता एवं सबै प्रति आभार प्रकट गरे । ‘सडकमा खुल्ला आउजाउ र व्यापार समेत भएकाले के कति कारोबार भनेर ठ्याक्कै भन्न सकिन्न । यतिचाहीँ साचो हो, सडक महोत्सवले सिंगो पोखराकै अर्थतन्त्र चलायमान बनाएको छ । कुनैपनि प्रकारको समस्या नआइए महोत्सव सफल पार्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दछु’ उलने भने ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार नयाँ वर्षमा होटल अकुपेन्सी ९० प्रतिशत रह्यो । आएका पर्यटक मध्य ५० प्रतिशत आन्तरिक पर्यटक, ३५ प्रतिशत भारतीय र १५ प्रतिशत अन्य तेस्रो मुलुकका रहेकोउनले जानकारी दिए । २३ र २४ भदौैको जेनजी आन्दोलन पछि भारतीय पर्यटकको आगमन घटेकोमा अंग्रेजी नयाँ वर्षमा आगम ह्वात्त बढेको उनको भनाई छ । आन्तरिक र भारतीय पर्यटकको उत्साहजनक उपस्थिति रह्यो, उनले भने, ‘नयाँ वर्षमा पर्यटकले यहाँका होटलहरु भरीभराउ भए ।’
पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष एवं पोखरा भ्रमण वर्षका कार्यसम्पादन संयोजक गोपीबहादुर भट्टराईले जाउँ है पोखरा, चलिए पोखरा र महानगरको पोखरा भ्रमण वर्ष घोषणा भएर आगमनको निमन्त्रणा लगायत यी सबैको प्रभाव देखिएको बताए । रेवान पोखराको २७ औं संस्करणसम्मको सफलतापूर्वक भएको निरन्तरताले समेत अंग्रेजी नयाँवर्ष पोखरा आएर मनाउनुपर्छ भन्ने मान्यता स्थापित भएको उनको बुझाई छ । उनले पोखरालाई केन्द्र मानेर पोखरा वरपरदेखि बागलुङ र मुस्ताङमा समेत पर्यटन चलायमान भएको सुनाए । पोखरा आएका पर्यटक बागलुङ र मुस्ताङसम्म पुग्नुका साथै पोखरा वरपरका मनोरम स्थलहरुमा समेत पुग्ने गरेको उनले बताए ।















