पोखरा ।
साढे दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी ८ भदौ २०७५ मा सम्झौता भएको पोखरा बागलुङ राजमार्ग अन्तर्गतको फिर्केखोला पुल निर्माणको सात वर्ष पूरा हुँदा जम्मा २५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक डिभिजन कार्यालय पोखराले ३० चैत २०७७ मा नर्माण सम्पन्न गर्नेगरी नेपालमै पहिलोपटक पाइलको सपोर्टमा केवल हालेर टावर टाइपको स्पेसल एक्स्ट्रा डोज मोटरेवल पुल निर्माण गर्नेगरी निर्माण व्यवसायी शान्ति/आरोग्य जेभी सानेपा ललितपुरसंग निर्माण सम्झौता गरेको थियो ।
कंक्रिट ग्रिडर र पाइल फाउण्डेसन गरेर निर्माण गरिन लागेको स्पेसल एक्स्ट्रा डोज मोटरेवल पुल हो । माछापुच्छ्रे हिमालसहित अन्य हिम श्रृंखलासमेत देखिने भएकाले यस्तो डिजाइनमा पुल बनाउने योजना बनेको सडक डिभिजन कार्यालय पोखराले बताएको छ ।
पुल निर्माणका लागि पहिलो पटक २२असोज २०७८ मा काम सक्नेगरी २३असार २०७८मा म्याद थपिएको, ६ भदौ २०७९ मा दोस्रो पटक म्याद थपेर २७ असार २०८० सम्म पुर्याइएको र ३१ असार २०८०मा फेरी तेस्रोपटक म्याद थपेर २७असार २०८१ सम्मको समय दिइएको थियो । तर, तेस्रो पटक थपिएको म्यादमा समेत पुल निर्माण नभएपछि कार्यालयले ठेक्का सम्झौता रद्ध गरेको डिभिजन कार्यालयका ईन्जिनियर पुजन श्रेष्ठले जानकारी दिए ।
सुरुमा निर्माण कम्पनीले मुद्दा हाल्दा नयाँ प्रक्रिया अगाडि बढाउन नपाइएको र पछि अदालतले बाटो खोल्दा बजेट व्यवस्थापन हुन नसक्दा नयाँ प्रक्रियामा जान नपाएको ई. श्रेष्ठले जानकारी दिएका छन् । जसका कारण पुल निर्माणका लागि बजेट व्यवस्थापन नभएसम्म अब नयाँ सम्झौता समेत अन्योलतामा धकेलिएको छ । चालु आर्थिक वर्षका लागि बजेट नआएपछि काम रोकिएको छ । पुल अब कहिले बन्छ भनेर ठ्याक्कै भन्न नसकिने ई श्रेष्ठले टिप्पणी गरे ।
पुल निर्माणका लागि १२ करोड ३२ लाख २६ हजार १७६ रुपैयाँमा (भ्याटसहित) ठेक्का लागेकोमा निर्माण कम्पनी शान्ति/आरोग्य जोभीले २ करोड ५३ लाख ३८ हजार ४८२ रुपैयाँ भुक्तानी लगेको छ ।















