पोखरा ।
पोखरा महानगरपालिकाले आफ्नो स्थापना दिवशको आवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको छ । महानगरले आफ्नो ६७ औं स्थापना दिवश विभिन्न कार्यक्रमसहित मनाइरहेको छ ।
जस अन्तर्गत आज सोमबार भएको रक्तदान कार्यक्रमको उद्घाटन पहिलो रक्तदाता स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर महानगरका प्रमुख धनराज आचार्यले गरेका हुन् । रक्तदान कार्यक्रममा बोल्दै प्रमुख आचार्यले रक्तदान गर्नु कसैको जीवन जोगाउनु भएको बताए ।
हरेक ९० दिनमा रगत दोहोर्याएर दिन सकिने चर्चा गरेका उनले रगतको अभाव हुन नदिँन निरन्तर रक्तदान गर्नुपर्नेमा जोड दिए । आफूले विगतमा ३७ पटक रक्तदान गरेको चर्चा गरेका उनले रक्तदान गर्न योग्य हँदासम्म पुण्यको काम गर्नुपर्ने बताए ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्य र स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्य लगायतले रक्तदानको महत्वको बारेमा बोलेका थिए ।
प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा वडा नम्बर ७ वडाध्यक्ष आचार्यसहित जनप्रतिनिधी, कर्मचारी, नगरप्रहरी र सवर्वसाधारण समेतले रक्तदान गरेका हुन् ।
महानगरले आफ्नो स्थापना दिवशको अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सोमबार नै महानगरले कृषि क्विज कार्यक्रम सम्पन्न गरेको छ भने विहान सरसफाई कार्यक्रम गरेको थियो । मंगलबार सरसफाई कार्यक्रम, सरंगी पार्क शिलान्यास, शिक्षक विद्यार्थी तथा विद्यालय सम्मान, न्यानो कपडा वितरण लगायतका कार्यक्रम हुँदैछन् । स्थापना दिवशको मुख्य दिन २ पुसमा विहान प्रभातफेरी हुनेछ । दिउँसो मुल समारोहमा पोखरेली नवरत्न सम्मानसहितका विविध कार्यक्रम रहेका छन् ।















