बुटवल ।
रसुवामा आएको बाढीमा बगेर नारायणी नदी हुँदै नवलपरासी पश्चिम आइपुगेका शवको व्यवस्थापन सुरु गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयपछि सुनवल नगरपालिका–४ स्थित मुलपानी सामुदायिक वनको कोरोना डाँडामा शव व्यवस्थापन थालिएको हो । नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले आवश्यक मापदण्ड पूरा गरी शव व्यवस्थापनको काम भइरहेको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार सोमबार बिहानसम्म नारायणी नदीले बगाएर ल्याएका १५५ शव तथा शरीरका अंग विभिन्न स्थानबाट फेला परेका छन् ।
फेला परेका शवको पहिचानका लागि परासी र बुटवलस्थित अस्पतालमा डीएनए परीक्षणलगायतका प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी मदन थापाका अनुसार हालसम्म ४५ शवको व्यवस्थापन भइसकेको छ ।
उनका अनुसार पहिचानका लागि शवबाट डीएनए परीक्षणको नमुना संकलन तथा अन्य आवश्यक प्रक्रिया जारी छ । पहिचानको प्रक्रिया पूरा भएपछि बाँकी शवको पनि क्रमशः व्यवस्थापन गरिनेछ ।
‘व्यवस्थित तरिकाले आवश्यक मापदण्ड पूरा गरेर शव व्यवस्थापनको काम भइरहेको छ,’ डीएसपी थापाले भने ।
नवलपरासी पश्चिममा फेला परेका शव सुरुमा परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा राखिएको थियो । शवको संख्या बढ्दै गएपछि पहिचान तथा व्यवस्थापन सहज बनाउन लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा र कपिलवस्तुको पिपरा अस्पतालमा समेत शव राखिएको छ ।
अस्पतालहरूमा शव पहिचान तथा परिचय कक्ष स्थापना गरी आफन्तको खोजीमा आउने व्यक्तिलाई आवश्यक जानकारी उपलब्ध गराउने व्यवस्था गरिएको छ । आफन्तले शव तथा तस्बिर हेरेर पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।
बाढीपहिरोपछि नदीमा बगेर आएका शव तथा शरीरका अंग विभिन्न स्थानमा भेटिएपछि स्थानीय प्रशासनले पहिचान, डीएनए परीक्षण तथा सुरक्षित र सम्मानजनक व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ ।











