बाढीमा परी आफन्त गुमाएका परिवारका सदस्यलाई पोखरामा निःशुल्क आवास र भोजन

केन्द्रभाग मिडिया

पोखरा ।
रसुवा र नुवाकोटमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीमा परी आफन्त गुमाएका परिवारका सदस्यलाई पृथ्वी होटल व्यवसायी समिति कास्की अन्तर्गत रहेका होटलहरुमा निःशुल्क आवास तथा भोजनको व्यवस्था गरिएको छ ।

पृथ्वी होटल व्यवसायी समिति पोखराले बाढीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचान तथा अन्य आवश्यक कामका लागि पोखरा आउनुपर्ने आफन्तलाई निःशुल्क बस्ने र खाने व्यवस्था गरेको हो ।

समितिका अध्यक्ष मोति प्रसाद श्रेष्ठका अनुसार बाढीका कारण ज्यान गुमाएका व्यक्तिका आफन्तलाई परेको दुःखमा केही राहत पुगोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । बाढीपीडित परिवारप्रति समवेदना व्यक्त गर्दै श्रेष्ठले आवश्यकताअनुसार पोखरा आउने आफन्तलाई होटल व्यवसायी समितिको समन्वयमा सेवा उपलब्ध गराइने बताए ।

‘घटनासँग सम्बन्धित मृतकको पहिचान तथा अन्य आवश्यक कामका लागि पोखरा आउनुपर्ने आफन्तलाई सहज होस् भनेर निःशुल्क आवास र भोजनको व्यवस्था गरेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने ।

समितिले सेवा लिनुपर्ने पीडित परिवार तथा सम्बन्धित व्यक्तिलाई तोकिएका सम्पर्क नम्बरमा समन्वय गर्न आग्रह गरेको छ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ । बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कामसमेत जारी छ ।

समितिका अध्यक्ष श्रेष्ठले दिएको जानकारीअनुसार सम्पर्कका लागिस् ऋषिराम पौडेल, कञ्चन बराल, मित्रलाल ढकाल, दोलराज दुम्रे, चिरञ्जीवी लामिछाने र रामहरि थापासँग समन्वय गर्न सकिनेछ ।

  • १५ भाद्र २०८३, सोमबार १६:०९ प्रकाशित