प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पोखरा यातायातको ४ लाख र पोखरेली ट्याक्सी सेवाको ३ लाख रुपैयाँ जम्मा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका विभिन्न यातायात व्यवसायी कम्पनीहरुले भोटेकोशीमा आएको बाढीमा प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्ने घोषणा गरेका छन् । पोखरा यातायात प्रालि र पोखरेली ट्याक्सी सेवा प्रालिले आ-आफ्नो साधारणसभाको अबसर पारेर यस्तो घोषणा गरेका हुन् ।

पोखरा यातायात प्रालिले आफ्नो १८ साधारण सभा मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेको हो । पोखरेली ट्याक्सी सेवा प्रालिले आइतबार सम्पन्न आफ्नो ८ औं वार्षिक साधारणसभा मार्फत तीन लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

पोखरा यातायात प्रालिका अध्यक्ष देउ प्रसाद गुरुङले राष्ट्रिय विपत्तिको यस क्षणमा पीडामा परेकाहरुलाई केही मल्हम लगाउनका लागि भएपनि अन्यत्र गरिने खर्च कटाएर राहतकोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए ।

यसैगरी पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष सोभाकान्त पौडेलले साधारण सभाकै खर्च समेत कम गरेर राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको बताए । उनले बाढीमा परेर ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै आफन्त जनमा समवेदना दिँदै शव पहिचान गर्न आएका आफन्तलाई ट्याक्सीले निःशुल्क रुपमा एम्बुलेन्सको रुपमा सेवाद दिने समेत जानकारी गराए ।

त्यसैगरी पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी र स्याङ्जा गण्डकी यातायात प्रालि लगायतका यातायात कम्पनीले समेत छिट्टै कति जम्मा गर्ने भन्ने निर्णयमा पुग्ने जनाइएको छ ।

पोखरा यातायात प्रालि र पोखरेली ट्याक्सी सेवा प्रालिले प्रधानमन्त्री राहत तथा उद्धार कोषमा गरेको योगदान प्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले आभार प्रकट गर्दै अन्य व्यवसायीलाई समेत सहयोग गर्न आग्रह गरेका छन् ।

  • १५ भाद्र २०८३, सोमबार १८:५६ प्रकाशित