इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न युवा नेता सुहाङको माग

केन्द्रभाग मिडिया

इलाम ।
नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले अविरल वर्षाका कारण जिल्लामा व्यापक क्षति भएपछि तत्काल इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न र राहत तथा उद्धारका लागि फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सरकारसँग माग गरेका छन्। नेम्वाङले सामाजिक सञ्जालमार्फत यो माग राख्दै इलामको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराएका हुन्।

जारी वर्षाका कारण इलाम जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको छ। मुख्य सडकहरू अवरुद्ध छन्, विद्युत् आपूर्तिमा बाधा पुगेको छ र समग्र जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको छ।

नेम्वाङका अनुसार पहिरो, सडक ध्वस्त र सञ्चार विच्छेदका कारण राहत तथा उद्धार कार्यमा गम्भीर चुनौती उत्पन्न भएको छ। यस विषम परिस्थिति र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय तथा सिफारिसलाई आधार मान्दै उनले तत्काल जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग आग्रह गरेका छन्।

त्यस्तै, जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण अत्यावश्यक राहत सामग्री, औषधि र जनसञ्चारमा समेत बाधा पुगेको छ।

राहत सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्नका लागि नेम्वाङले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

  • २१ आश्विन २०८२, मंगलवार १३:५८ प्रकाशित