गल्याङ ।
गल्याङ जेसीजले नेपाल जेसीजबाट ‘गोल्ड अवार्ड’ प्राप्त गरेको छ । अवार्ड प्राप्त भएसंगै गल्याङ जेसिजले आफ्नो पहिचानलाई राष्ट्रियस्तरमा झनै बलियो बनाएको अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकले प्रतिक्रिया दिए । उनका अनुसार वर्ष २०२५ मा संस्थाले गरेको उल्लेखनीय सामाजिक योगदान, प्रभावकारी नेतृत्व र युवामैत्री कार्यक्रमहरूको समग्र मूल्याङ्कन गर्दै नेपाल जेसीजले उक्त सम्मान प्रदान गरेको हो ।
‘गोल्ड अवार्ड’ले संस्थालाई थप प्रेरणा र जिम्मेवारी दिएको र गल्याङ जेसीजले यो सम्मानलाई नयाँ उचाइमा पुर्याउने अवसरको रूपमा लिँदै आगामी दिनहरूमा पनि समाज परिवर्तन, युवा सशक्तिकरण र स्थानीय विकासमा आफूलाई अझै समर्पित बनाउने प्रतिबद्धता जनाएको छ ।
‘गल्याङको नामलाई राष्ट्रियस्तरमा चिनाउने कार्यमा समर्पित गल्याङ जेसीज अब सामाजिक सेवाको प्रतिकको रूपमा स्थापित हुँदै गएको छ — जहाँ नेतृत्व केवल पदको लागि होइन, समाजसेवाको लागि लिइन्छ’ अध्यक्ष पाठकले भने ।
वि.सं. २०७५ मा स्थापना भएको गल्याङ जेसीजले ‘समाजका लागि नेतृत्व’ भन्ने मूल नारालाई व्यवहारमा उतार्दै गल्याङ नगर र आसपासका क्षेत्रका युवाहरूलाई संगठित गर्दै आएको छ । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको सक्रिय सहभागितासँगै संस्था समाज रूपान्तरणका अभियानमा निरन्तर जुटिरहेको अध्यक्ष पाठकले बताए ।
‘सामाजिक समावेशिता, स्थानीय संस्कृति संरक्षण, महिला सशक्तिकरण, युवा नेतृत्व विकास, शिक्षा प्रवर्द्धन, स्वास्थ्य सचेतना र वातावरण संरक्षणका क्षेत्रमा गल्याङ जेसीजले देखाएको सक्रियता उल्लेखनीय छ । चाहे श्रमिक सम्मान होस् वा माता सम्मान कार्यक्रम, चाहे विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण होस् वा प्रजातन्त्र र सहिद दिवसमा दीप प्रज्वलनसहितको सम्मान कार्यक्रम — संस्थाले स्थानीय समाजसँग नजिकिँदै जनभावनालाई सम्मानजनक ढंगले आत्मसात् गर्दै आएको छ’ उनले भने ।
धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन, आकस्मिक रक्तदान, विपद् व्यवस्थापन, उद्धारकार्य, वृक्षरोपण, जलचर संरक्षण, बालमैत्री कार्यक्रम, खेलकुद सामग्री वितरण र नेतृत्व तालिमजस्ता कार्यक्रमले गल्याङ जेसीजको गतिविधिलाई अझ प्रभावशाली बनाएको छ। समाजका हरेक तहमा हस्तक्षेप गर्दै गल्याङ जेसीजले ‘सेवामा नेतृत्व’ को सशक्त उदाहरण प्रस्तुत गर्दै आएको अध्यक्ष पाठक बताउँछन् ।
नेपाल जेसीजले देशभरका शाखाहरूको कार्यक्रमको प्रभाव, नवप्रवर्तन, अभिलेखिकरण र नेतृत्व क्षमताको समग्र समीक्षा गर्दै गल्याङ जेसीजको कार्यशैलीलाई अनुकरणीय मान्दै ुगोल्ड अवार्डुद्वारा सम्मान गरेको हो। अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकको नेतृत्वमा संस्था सुशासन, पारदर्शिता र नवाचारयुक्त दृष्टिकोणका साथ अघि बढिरहेको छ ।
सामाजिक सञ्जालमार्फत समेत गल्याङ जेसीजले आफ्नो उपस्थिति बलियो बनाएको छ। फेसबुक, टिकटकलगायतका माध्यमबाट कार्यक्रमहरूको यथार्थ विवरण, सूचनामूलक सामग्री र जनचेतनामूलक सन्देश प्रवाह गर्दै संस्था जनताको विश्वास जित्न सफल भएको छ ।
ु














