एक पैसा खाएको छैन, अख्तियारको मुद्दा प्रतिशोध हो : माधव नेपाल

केन्द्रभाग मिडिया

विराटनगर ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दालाई राजनीतिक प्रतिशोध मात्रै भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले यस्तो बताएका हुन् ।

आफूविरुद्धको मुद्दा कुनै भ्रष्टाचारसँग सम्बन्धित नभएको उनको दाबी छ ।‘मेरो केस त कुनै भ्रष्टाचारको केसै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो, जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’ उनले भने, ‘यो त राजनीतिक पूर्वाग्रह हो, त्यो प्रतिशोध हो भन्ने कुरा सबैले बुझेका छन्, मैले जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन।’

अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्रसँग तत्काल पार्टी एकताका लागि कुनै छलफल नभएको बताए । माओवादी केन्द्रसँग सहकार्यको मात्रै कुरा भइरहेको बताए ।

यस्तै नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारका कारण देशले पीडा भोगिरहेको आरोप लगाए ।यो सरकार सबै हिसाबले असफल छ । एउटा व्यक्ति केपी ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले गर्दाखेरि देश पूरै पीडित छ,’ उनले भने, ‘यो पीडाबाट जबसम्म केपी ओलीलाई बिदा गरिँदैन, मुक्त हुने स्थिति बन्दैन ।’

केपी ओली र शेरबहादुर देउवा मिलेसम्म यो सरकार परिवर्तन नहुने उनको भनाइ छ ।केपी ओलीका कारण एमालेमा पनि तमासा देखिएको उनले बताए ।

‘एमालेभित्र तमासा हेर्दै जानुस्, देशको कम्युनिस्ट आन्दोलनलाई सिध्याएरै छोड्छन् केपी ओलीले,’ उनले भने, ‘राष्ट्रकै निम्ति ठूलो नोक्सान पुर्‍याउने स्थितिमा पुर्‍याउँछन् ।’

  • १६ श्रावण २०८२, शुक्रबार १५:०५ प्रकाशित