पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ ले निर्माण गरेको प्रवेशद्वार तथा बगैंचाको उद्घाटन गरिएको छ । प्राचिन शैलीमा निर्माण गरिएको प्रवेश द्वार, बगैंचा, कम्पाउण्ड र फल्चाको शुक्रबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
उद्घाटन गर्दै महानगर प्रमुख आचार्यले साविकको पोखरा नगरपालिका हुँदै विकास भएको पोखरा, साविकको लेखनाथ र महानगरपालिका निर्माण हुँदा गाभिएका गाविसको विकास गरेर तीन प्रकारको प्राथमिकता र मनोविज्ञानको आधार महानगरको विकास निर्माणलाई अगाडि बढाइएको बताए । उनले महानगरमा विकास निर्माणको आधार तयार भएको भन्दै अब विस्तारै रिजल्ट देखिने जानकारी दिए । विदेशी दातृ निकायको सहयोगमा विभिन्न परियोजनाहरु सुरु भइसकेको उनले बताए ।
पोखराको पुरानो बजारलाई हेरिटेज साइडको रुपमा विकास गर्ने, पोखरा पञ्चासे सडक, एयरपोर्ट देखि लेकसाइडसम्मको फास्ट ट्रयाक, साइकल ट्रेल लगायतका साढे सात अर्बभन्दा बढीका परियोजना सुरु भइसकेका उनले बताए । ‘विकास निर्माणका लागि दातृ निकायसंगको सहकार्य र सहयोगमा विभिन्न परियोजनाहरु अगाडि बढाइएका छन् । विकास निर्माण र पूर्वाधारको जग बसेको छ । अब विस्तारै यसको रिजल्ट देखिनेछ’ उनले भने ।
प्रमुख आचार्यले पोखरा महानगरपालिका वडा नम्बर ९ र ६ बाहेक सबै वडामा वडाकार्यलय निर्माण भइसकेका बताए । अहिले नमुना वडा कार्यालयका रुपमा पोखरा १२ को वडा कार्यालय र यसको परिसर रहेको भन्दै उनले वडा नम्बर १२ सुविधासम्पन्न वडाका रुपमा विकास भइसकेको बताए । वडाध्यक्षको सक्रियतामा महानगरको साथले विकास निर्माणका कार्य अगाडि बढेको उनले उल्लेख गरे ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले पूर्वाधारहरु आकर्षक बनेका चर्चागर्दै जनताले सेवापनि त्यहीढंगले प्राप्त गर्ने अपेक्षा प्रकट गरे । ‘वडा नम्बर १२ मा वडा कार्यालय र यसको परिसर निकै सुन्दर र आकर्षक बनेको छ । आकर्षक पूर्वाधारबाट आकर्षक ढंगले सेवा प्रवाह हुनेछ भन्ने आसा लिएका छौं’ उनले भने ।
वडा नम्बर १२ वडाध्यक्ष सन्तोस बास्तोलाले निर्माण भएको प्रवेशद्वार फगत इट्टा, सिमेन्ट वा कंक्रिट नभएर एक महत्वपूर्ण सांस्कृतिक र मौलिकताको उदाहरणको रुपमा रहेको बताए । परम्परागत सीप, शैली र संस्कारको संरक्षणमा वडा कार्यालय लागि परेको चर्चा गरेका उनले विकासका लागि बजेटको अभाव नभएको जानकारी दिए । ‘हामीले निर्माण गरेको प्रवेशद्वार फगत इट्टा, सिमेन्ट वा कंक्रिट होइन, यो एक महत्वपूर्ण सांस्कृतिक र मौलिकताको उदाहरण हो । यसलाई यसैरुपमा लिइदिनुहोला’ उनले भने ।
वडा कार्यालको प्रवेश द्वार ३० लाख रुपैयाँ, गार्डेन ३० लाख रुपैयाँ, फल्चा १५ लाख रुपैयाँ र कम्पाउण्ड ६५ लाख रुपैयाँ लागत गरेर जम्मा एक करोड ४० लाखको लागतमा संरचना बनेका उद्घाटनको अबसरमा जानकारी दिइएको छ ।
उक्त अवसरमा निर्माण उपभोक्ता समितिका अध्यक्ष बलबहादुर कार्की, वडा सदस्य सन्तबहादुर थापा र वडा सचिव सारदा सापकोटा लगायतले बोलेका थिए ।














