काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ ।
सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टाका नाममा बिक्री गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजालसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिवादी बनाएर मंगलबार मुद्दा दायर गरेको हो ।
तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ सालमा कम्पनीको नाममा सुनसरी र मोरङमा रहेको ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न अनुमति दिएको थियो । इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको जग्गा बिक्री गरी दुर्गम स्थानमा जग्गा सट्टापट्टा गरिएको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा अघि बढाएको हो ।
उक्त निर्णयमा मन्त्रिपरिषद्को सामाजिक समिति पनि जिम्मेवार देखिएकाले तत्कालीन समितिमा रहेका रिजाललाई समेत प्रतिवादी बनाइएको अख्तियार स्रोतले जनाएको छ । यस प्रकरणमा मालपोतका कर्मचारीलाई समेत प्रतिवादी बनाइएको छ ।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले अख्तियारबाट नेपालसहितका प्रतिवादीविरुद्धको आरोपपत्र प्राप्त भएको पुष्टि गर्दै अहिले रुजु गर्ने काम भइरहेको बताइन् ।












