युक्रेनमा रुसी हवाई आक्रमण : २६ जनाको ज्यान गयो, २७ जना बेपत्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी सेनाको हवाई आक्रमणमा २६ जनाको ज्यान गएको छ ।दक्षिणी जापोरिजिया क्षेत्रमा पर्ने कोमिशुवाखा गाउँमा रुसी सेनाले गरेको हवाई आक्रमणमा २६ जनाको ज्यान गएको हो ।

बीबीसीका अनुसार आक्रमणमा पाँच जना घाइते भएका छन् । प्रारम्भिक विवरणअनुसार २७ जना बेपत्ता भएका बीबीसीले जनाएको छ ।

आक्रमणमा राहत सामग्री वितरण केन्द्रलाई समेत निशाना बनाइएको बताइएको छ ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई ‘अत्यन्त भयावह’ भन्दै आक्रमणको निन्दा गरेका छन् ।

क्षेत्रीय प्रमुख मायखाइलो सेमिकिनलाई उद्धृत गर्दै प्रकाशित समाचारमा गाउँमा कम्तीमा नौवटा हवाई बम खसालिएको उल्लेख छ ।

तीमध्ये प्रत्येक बमको तौल करिब तीन हजार किलोग्राम रहेको बताइएको छ । घटनाबारे रुसी सेनाले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।

  • १७ कार्तिक २०८३, मंगलवार १२:२४ प्रकाशित