काठमाडौं ।
नेपाल र ब्राजिलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले सम्बन्धलाई थप सुदृढ र सहकार्यलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कूटनीतिक सम्बन्धको स्वर्णजयन्तीका अवसरमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र ब्राजिलका विदेशमन्त्री माउरो भिएराले एक–अर्कालाई बधाई सन्देश आदानप्रदान गर्दै द्विपक्षीय सम्बन्ध विस्तारका लागि साझा प्रतिबद्धता व्यक्त गरेका हुन् ।
ब्रासिलियास्थित नेपाली दूतावासका अनुसार दुवै मन्त्रीले आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्दै नेपाल–ब्राजिल सम्बन्धलाई थप गहिरो र परिणाममुखी बनाउनेमा जोड दिए । साथै, दुई देशका राजधानीमा रहेका कूटनीतिक नियोगले साझा एजेन्डा अघि बढाउन खेलेको भूमिकाको समेत उनीहरूले प्रशंसा गरे ।
परराष्ट्रमन्त्री खनालले ब्राजिलले सामाजिक तथा आर्थिक विकासमा हासिल गरेको प्रगतिको प्रशंसा गर्दै जलवायु परिवर्तनको विश्वव्यापी एजेन्डामा ब्राजिलले देखाएको नेतृत्वको सराहना गरेका छन् । उनले ग्लोबल साउथको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा बलियो बनाउन ब्राजिलले खेलेको भूमिकालाई महत्वपूर्ण भन्दै नेपाल–ब्राजिल सहकार्यलाई जलवायु अनुकूलन तथा उत्थानशीलता, दिगो विकास, जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
‘नेपाल–ब्राजिल सहकार्य र साझेदारीलाई थप उचाइमा पुर्याउँछौं,’ मन्त्री खनालले भनेका छन्। ब्राजिलका विदेशमन्त्री भिएराले नेपाल र ब्राजिलबीच मित्रता, पारस्परिक विश्वास र साझा मूल्यमा आधारित बलियो सम्बन्ध रहेको बताएका छन्। उनले द्विपक्षीय सहकार्य निरन्तर सुदृढ हुँदै गएकोमा सन्तोष व्यक्त गर्दै नेपालको दुग्ध क्षेत्रको विकासमा ब्राजिलको सहयोगमा सञ्चालित परियोजनालाई दुई देशबीचको व्यावहारिक सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
उनले दुवै देश ग्लोबल साउथका सक्रिय आवाज भएको उल्लेख गर्दै बहुपक्षीयता, न्यायपूर्ण तथा शान्तिपूर्ण अन्तर्राष्ट्रिय व्यवस्था र जलवायु कार्यका लागि साझा प्रतिबद्धता रहेको बताएका छन् । नेपाल र ब्राजिलबीच सन् १९७६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालले सन् २०१० मा ब्रासिलियामा आवासीय दूतावास स्थापना गरेको थियो भने त्यसको एक वर्षपछि ब्राजिलले काठमाडौंमा आवासीय दूतावास स्थापना गरेको थियो ।
दुई देशबीचको द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को आगामी बैठक काठमाडौंमा आयोजना गर्ने तयारी भइरहेको छ। द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय विषयमा छलफल गर्ने महत्वपूर्ण संयन्त्रका रूपमा रहेको बीसीएमको पछिल्लो बैठक सन् २०१८ मा ब्रासिलियामा भएको थियो ।














