देउवा पक्षीय १५औँ महाधिवेशन तयारी समितिको बैठक बुधबार बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिको बैठक बुधबार बस्ने भएको छ ।

सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठक बुधबार बिहान ११ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेछ । विज्ञप्तिमार्फत तयारी समितिमा रहेका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थितिका लागि जानकारी गराइएको छ ।

उक्त तैयारी समितिमा नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, पूर्व पदाधिकारी एवं सदस्यहरू, पार्टीसँग आबद्ध प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदहरू, संविधानसभाका सदस्यहरू र पूर्व सांसदहरू रहेका छन् । यस्तै, १५औँ महाधिवेशनका लागि जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरू, सातै प्रदेशका पदाधिकारी तथा निवर्तमान पदाधिकारीहरू, प्रदेश सभाका सांसद तथा पूर्व सांसदहरू पनि समितिमा समेटिएका छन् ।

यसैगरी, पार्टीका जिल्ला सभापति एवं संयोजकहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, सभापति, पदाधिकारी एवं पूर्व पदाधिकारीहरू तथा काठमाडौँ उपत्यकाभित्रका क्षेत्रीय सभापति एवं जिल्ला पदाधिकारीहरूलगायत आवश्यक व्यक्तिहरू समितिमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

  • ७ मंसिर २०८३, सोमबार १७:२३ प्रकाशित