तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको तयारी पूरा

केन्द्रभाग मिडिया

पोखरा ।
तेस्रो पर्वतीय दौड प्रतियोगिता–२०८३ सम्पूर्ण तयारी पूरा भएको छ । विश्व पर्यटन दिवसको सन्दर्भ पारेर असोज २४ गते शनिबार आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिताका संयोजक दिलनाथ बरालले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा खुलातर्फका विजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सञ्चार र पर्यटनसँग खेल पर्यटनलाई जोडेर प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संयोजक दीननाथ बरालले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगितालाई निरन्तरता दिइएको बताए । उनका अनुसार प्रतियोगितामा खुला, वडास्तरीय, महिला, यु–१६, विदेशी तथा भेट्रान्स गरी विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष मित्रलाल बरालले पोखरा महानगरपालिका वडा नम्बर २२ र त्यस वरपरका पर्यटकीय स्थलहरूको प्रवर्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा प्रकट गरे। उनले यो प्रतियोगिताले आगामी दिनमा अझ बढी सम्भावनाको ढोका खोल्ने समेत अपेक्षा प्रकट गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरिबहादुर भुजेलले यो प्रतियोगिताले यहाँको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए यस्ता खालका कार्यक्रमलाई पर्यटन परिषदले आगामी दिनमा पनि सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले प्रतियोगितालाई अझ विस्तृत गर्दै लैजान सुझाव दिए । प्रतियोगिताले पोखराको पर्यटन प्रवर्द्धनसँगै आसपासका ग्रामीण क्षेत्रका पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

विश्वशान्ति स्तूपबाट सुरु हुने दौड पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा महानगरपालिका–२२ को कार्यालय हुँदै न्यालडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर सम्पन्न हुनेछ। करिब पाँच किलोमिटर दूरीको प्रतियोगिताले पुम्दीकोट, न्यालडाँडा र कालाबाङ घरेडी क्षेत्रका पर्यटकीय गन्तव्यलाई समेत प्रचारप्रसार गर्ने आयोजकको विश्वास छ।

प्रतियोगितामा खुलातर्फ पहिलो हुने धावकले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले ६ हजार र पाँचौँ हुनेले तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। छैटौँदेखि दसौँ स्थानसम्मका धावकलाई जनही एक हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

त्यसैगरी, वडास्तरीय खुला, महिलातर्फ र यु–१६ विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १५ हजार, सात हजार र तीन हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। विदेशी धावकतर्फ विजेताले १५ हजार र उपविजेताले सात हजार रुपैयाँ प्राप्त गर्नेछन्। भेट्रान्स विधाका विजेतालाई पनि मेडल तथा प्रमाणपत्रसहित पुरस्कृत गरिनेछ।

प्रतियोगिताको पहिलो संस्करणमा बेलायत र ब्राजिलसहित विभिन्न देशका ७१ पुरुष र ३३ महिला गरी १०४ धावकले अनलाइन फाराम भरेका थिए । प्रतिकूल मौसमका कारण ७२ जना सहभागी भएका थिए। दोस्रो संस्करणमा आठ देशका १६९ जना धावक पुम्दीकोटसम्म पुगेका थिए। यसले प्रतियोगिताप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको आकर्षण बढ्दै गएको आयोजकको दाबी छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले पोखरा क्लिकको अनलाइन माध्यमबाट फाराम भर्न सक्नेछन्। असोज २१ गते राति १२ बजेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेका छन्। प्रदेश खेलकुद परिषद् गण्डकी तथा पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्य रहेको प्रतियोगितामा विभिन्न व्यावसायिक संस्था तथा संघसंस्थाको सहयोग छ। प्रतियोगिताको अनुमानित बजेट १८ लाख ७० हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय म्याराथन धावक तथा पर्वतीय दौडका प्रवर्द्धकहरूले समेत प्रतियोगितालाई साथ दिएका छन् । आयोजकका अनुसार प्रतियोगिताले पोखरा आसपासका ग्रामीण पर्यटकीय गन्तव्यको पहिचान गर्दै पर्यटकलाई सहरी क्षेत्रबाट ग्रामीण भेगसम्म पुर्‍याउन र ग्रामीण पर्यटन तथा खेल पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्न सहयोग गर्नेछ ।

  • १७ आश्विन २०८३, शनिबार १८:३२ प्रकाशित